काठमाडौं । यातायात व्यवस्था विभागले सवारीसाधन दर्ता, नामसारी तथा बीमासम्बन्धी प्रक्रिया सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन गरेको छ । संशोधित व्यवस्थाअनुसार अब सवारीधनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि यी काम गर्न सकिनेछ ।
विभागको संशोधित व्यवस्थाले सवारीसाधन खरिदबिक्रीसँग सम्बन्धित प्रशासनिक प्रक्रिया सहज बनाउनुका साथै सेवाग्राहीले भोग्दै आएका झन्झट कम गर्ने अपेक्षा गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार डिलरबाट जाँच भइसकेका सवारीसाधनलाई सोही जाँचका आधारमा मान्यता दिइनेछ । त्यस्ता सवारीसाधनलाई पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने छैन ।
त्यस्तै, सवारी खरिदकर्ताले वारेसनामा दिएर आफूले तोकेको व्यक्तिमार्फत सवारी दर्ता तथा नामसारीको काम गराउन सक्नेछन् । यसका लागि वारेसनामा प्राप्त व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित सम्बन्धित यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्नेछ ।
संशोधित निर्देशिकाले सवारीसाधनको बिमा तथा बिमा नवीकरणसम्बन्धी प्रक्रियालाई पनि सहज बनाएको छ । अब यी कामका लागि सवारीधनी स्वयं कार्यालयमा उपस्थित हुनुपर्ने छैन ।
विभागले गरेको संशोधनबाट सवारीसाधन दर्ता तथा नामसारीका क्रममा लाग्ने समय र प्रशासनिक झन्झट घट्ने अपेक्षा गरिएको छ ।
