भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि निर्माण सुरु

काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले भक्तपुरमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौंको डल्लुमा अर्को सर्भिस सेन्टर निर्माणका लागि शिलान्याससमेत गरेको छ।

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको अवस्थामा ग्राहकलाई बिक्रीपछिको सेवा सहज बनाउन सर्भिस नेटवर्क विस्तार गरिएको कम्पनीले जनाएको छ। यी दुई परियोजनाले बीवाईडीका ग्राहकलाई सवारीसाधनको मर्मतसम्भार तथा अन्य सेवा थप सहज रूपमा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

बीवाईडीको एसिया–प्यासिफिक अटो सेल्स डिभिजनका डेपुटी जनरल म्यानेजर झाङ जी र असिस्टेन्ट जनरल म्यानेजर तथा आफ्टर सेल्स प्रमुख फेङ एरदोङले भक्तपुरस्थित सर्भिस सेन्टर उद्घाटन गरेका हुन्। 

२५ हजार वर्गफिटभन्दा बढी क्षेत्रफलमा सर्भिस सेन्टर

भक्तपुरमा निर्माण गरिएको नयाँ सर्भिस सेन्टर २५ हजार ७२.६० वर्गफिट क्षेत्रफलमा फैलिएको छ। यसलाई बिक्री, सर्भिस र स्पेयर पार्ट्ससम्बन्धी सुविधा एउटै स्थानबाट उपलब्ध गराउने ‘थ्रीएस’ सेन्टरका रूपमा विकास गरिएको हो।

सेन्टरमा आठवटा सर्भिस बे रहेका छन्। तीमध्ये पाँचवटा सञ्चालनमा आइसकेका छन् भने बाँकी तीनवटा सवारीसाधनको सर्भिससम्बन्धी आवश्यकता बढ्दै जाँदा सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ। यसै स्थानमा सवारीसाधन बिक्रीका लागि शोरुम पनि चाँडै सञ्चालनमा आउनेछ।

भक्तपुरको सांस्कृतिक तथा वास्तुकलागत पहिचानबाट प्रेरित भएर सर्भिस सेन्टरको डिजाइन तयार गरिएको कम्पनीले जनाएको छ। बीवाईडीको अन्तर्राष्ट्रिय ब्रान्ड मापदण्ड र स्थानीय सम्पदालाई जोड्ने उद्देश्यले यसलाई ‘बीवाईडी हेरिटेज शोरुम एन्ड सर्भिस सेन्टर’ अवधारणामा विकास गरिएको हो। 

डल्लुमा पनि सर्भिस नेटवर्क विस्तार

भक्तपुरको सर्भिस सेन्टर उद्घाटनकै दिन काठमाडौंको डल्लुमा नयाँ सर्भिस सेन्टर निर्माणका लागि शिलान्यास गरिएको हो। डल्लुमा बन्ने सेन्टरले काठमाडौं उपत्यकामा बीवाईडीको बिक्रीपछिको सेवा क्षमता बढाउने कम्पनीको विश्वास छ।

शिलान्यास कार्यक्रममा बीवाईडी एसिया–प्यासिफिक अटो सेल्स डिभिजनका प्रतिनिधिहरूसहित साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ सहभागी थिए।

कम्पनीका अनुसार विद्युतीय सवारीसाधनको प्रयोग बढेसँगै दक्ष प्राविधिक जनशक्ति, सक्कली स्पेयर पार्ट्स र भरपर्दो मर्मतसम्भार सेवाको आवश्यकता पनि बढ्दै गएको छ। त्यसलाई ध्यानमा राख्दै नेपालमा बीवाईडीको सर्भिस पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको हो।

भक्तपुरमा नयाँ थ्रीएस सेन्टर सञ्चालनमा आउनु र डल्लुमा निर्माण सुरु हुनुले ग्राहकलाई सवारीसाधन खरिददेखि नियमित मर्मतसम्भारसम्म सहज सेवा उपलब्ध गराउने कम्पनीको योजनालाई थप बल पुर्याउने अपेक्षा गरिएको छ। 

Share News