एमजी हेक्टर टोमहक ईभी नेपालमा, मूल्य ५७ लाख ९९ हजारदेखि

काठमाडौं । एमजीले नेपाली बजारमा नयाँ विद्युतीय एसयूभी ‘एमजी हेक्टर टोमहक ईभी’ सार्वजनिक गरेको छ। नेपालका लागि जेएसडब्लू एमजी मोटर इन्डियाको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले यसको मूल्य सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार एमजी हेक्टर टोमहक ईभीको नियमित मूल्य ६१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। तर, सुरुवाती चरणमा पहिलो ५० जना ग्राहकले यो गाडी ५७ लाख ९९ हजार रुपैयाँको विशेष मूल्यमा खरिद गर्न सक्नेछन्।

कम्पनीले मूल्यमा पारदर्शिता कायम गर्ने उद्देश्यले गाडीका स्पेयर पार्ट्सको मूल्यसूचीसमेत सार्वजनिक गरेको जनाएको छ। 

एक पटकको चार्जमा ५१७ किलोमिटरसम्म रेन्ज

एमजी हेक्टर टोमहक ईभीमा ६९.२ किलोवाट आवर क्षमताको ब्याट्री र १५० किलोवाटको विद्युतीय मोटर रहेको छ। उक्त मोटरले ३१० एनएम टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार यसले एक पटकको चार्जमा एमआईडीसी प्रमाणित मापदण्डअनुसार ५१७ किलोमिटरसम्म रेन्ज दिन्छ।

यो एसयूभीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.२ सेकेन्डमा हासिल गर्न सक्छ। यसमा ९० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सुविधा छ। उक्त चार्जरबाट ब्याट्री ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३५ मिनेट लाग्ने कम्पनीले जनाएको छ।

त्यस्तै, ७.४ किलोवाटको एसी चार्जर प्रयोग गर्दा ब्याट्रीलाई १० देखि १०० प्रतिशतसम्म चार्ज गर्न करिब १२.५ घण्टा लाग्छ। 

पाँच र सात सिटको विकल्प

एमजी हेक्टर टोमहक ईभी पाँच र सात सिटको विकल्पमा उपलब्ध हुनेछ। पाँच सिटे संस्करणमा ६१० लिटरसम्मको बुट स्पेस रहेको छ।

गाडीमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्ने १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम तथा २२.३ सेन्टिमिटरको मल्टिइन्फर्मेसन डिस्प्ले दिइएको छ।

सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, ट्र्याक्सन कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, एबीएससहित ईबीडी, चारवटै पाङ्ग्रामा डिस्क ब्रेक, इलेक्ट्रिक पार्किङ ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम, आइसोफिक्स चाइल्ड सिट एंकर, रियर पार्किङ सेन्सर र रिभर्स पार्किङ क्यामेरा जस्ता सुविधा छन्।

जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले नेपाली बजारमा स्मार्ट र वातावरणमैत्री यातायातप्रतिको आकर्षण बढ्दै गएको बताए। उनका अनुसार एमजी हेक्टर टोमहक ईभीले प्रविधि, आराम र विद्युतीय कार्यक्षमताको संयोजन प्रस्तुत गर्नेछ। कम्पनीले गाडी बिक्रीसँगै बिक्रीपछिको सेवा पनि प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

ग्राहकले एमजी हेक्टर टोमहक ईभीको बुकिङ र टेस्ट ड्राइभका लागि काठमाडौंको थापाथलीस्थित एमजी काठमाडौंमा सम्पर्क गर्न सक्नेछन्। 

Share News