काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारीको मतगणनामा उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य विजयी भएका छन् ।
त्यस्तै, महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भएका छन् ।
उपसभापति खुलातर्फ भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दा आचार्यले २ हजार ३४२ मत पाए । उक्त पदका उम्मेदवार गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा. डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरे ।
उपसभापतिको समावेशी एक पदमा विनोदकुमार चौधरी विजयी भएका छन् । उनले १ हजार ७४५ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत पाए ।
महामन्त्री खुलातर्फ प्रदीप पौडेल सर्वाधिक ४ हजार १९४ मतसहित विजयी भए । अर्का विजयी उम्मेदवार उदयशमशेर राणाले २ हजार ३३० मत प्राप्त गरे ।
डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, अमरसिंह पुन मगरले १ हजार १२५, नैनसिंह महरले १ हजार १३४, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरे ।
महामन्त्री महिलातर्फ डा. डिला संग्रौला (पन्त) विजयी भएकी छन् । उनले ३ हजार ११८ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गरिन् ।
यससँगै सार्वजनिक मत परिणामअनुसार उपसभापति खुला, उपसभापति समावेशी, महामन्त्री खुला र महामन्त्री महिलातर्फका विजेताको टुंगो लागेको छ ।