भण्डारी र पौडेलको अग्रता झन् फराकिलो

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । 

पछिल्लो ४ हजार ६०० मतगणनाको परिणामअनुसार खुलातर्फ उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले अग्रता कायम राखेका छन् ।

खुलातर्फ उपसभापतिमा भण्डारीले २ हजार ३४३ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका मधु आचार्यले १ हजार ४४१ मत प्राप्त गरेका छन् । भण्डारी आचार्यभन्दा ९०२ मतले अगाडि छन् ।

त्यस्तै, गोविन्द भट्टराईले १ हजार २१९, सुरेन्द्रराज पाण्डेले १ हजार १५० र धनराज गुरुङले १ हजार ५३ मत प्राप्त गरेका छन् । दीपक गिरीले ६३८ र प्रा.डा. चन्द्रमोहन यादवले ३८७ मत पाएका छन् ।

समावेशीतर्फको एक उपसभापति पदमा विनोदकुमार चौधरीले अग्रता लिएका छन् । उनले १ हजार १४५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार १०७ मत पाएका छन् । उनीहरूबीच ३८ मतको अन्तर छ ।

यसैगरी, सीता गुरुङले ७४९, फरमुल्लाह मन्सुरले ६३७ र रञ्जित कर्णले ३५२ मत प्राप्त गरेका छन् ।

खुलातर्फ महामन्त्रीमा प्रदीप पौडेलले फराकिलो अग्रता बनाएका छन् । उनले २ हजार ६५७ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी उदयशमशेर राणाले १ हजार ४९१ मत पाएका छन् । पौडेल र राणाबीच १ हजार १६६ मतको अन्तर छ ।

महामन्त्रीका अर्का उम्मेदवार डा. सुनिलकुमार शर्माले १ हजार ३८७ मत प्राप्त गरेका छन् । त्यस्तै, अमरसिंह पुन मगरले ९२९, गुरुराज घिमिरेले ९२०, नैनसिंह महरले ६६८, शंकर तिवारीले ८८ र डा। सन्तोष उपाध्यायले ७२ मत पाएका छन् ।

महिलातर्फको एक महामन्त्री पदमा डा. डिला संग्रौला (पन्त) ले अग्रता लिएकी छन् । उनले २ हजार ३७ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले १ हजार ८३८ मत पाएकी छन् । संग्रौला उपाध्यायभन्दा १९९ मतले अगाडि छिन् । अर्की उम्मेदवार रीता खनालले ४६६ मत प्राप्त गरेकी छन् ।

Share News