८१ वर्षमा पनि राजनीतिमा सक्रिय बराल, भन्छन्– अब नयाँ पुस्तालाई अवसर दिनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनका ज्येष्ठ प्रतिनिधिमध्येका एक हुन्, कास्की क्षेत्र नम्बर २ का शोभाचन्द्र बराल । ८१ वर्षको उमेरमा पनि राजनीतिमा सक्रिय उनी अब नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बताउँछन् ।

२००३ सालमा जन्मिएका बरालले लामो समयदेखि परिवार, व्यापार–व्यवसाय, समाजसेवा र राजनीतिलाई सँगसँगै अघि बढाउँदै आएका छन् । राजनीतिमा पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको जोसलाई

बरालको विवाह १२ वर्षको उमेरमै भएको थियो । उनका चार छोरा र दुई छोरी छन् । अहिले उनी नातिनातिना र दुई जना पनातिका हजुरबुबासमेत बनिसकेका छन् ।

पोखरा महानगरपालिका–७, मासबारका स्थायी बासिन्दा बरालको परिवार बाजेको पालादेखि नै राजनीतिसँग जोडिएको थियो । व्यापार–व्यवसाय गर्दै आएका उनले राजनीतिलाई पनि निरन्तरता दिए ।

एसएलसीसम्म औपचारिक शिक्षा हासिल गरेका बरालले राजनीतिक अनुभव भने पार्टी संगठन र सामाजिक कामबाट बटुलेका हुन् ।

बरालले नेपाली कांग्रेसको वडा सभापतिबाट राजनीतिक जिम्मेवारी सुरु गरेका थिए । त्यसपछि उनी क्षेत्रीय सभापतिसम्म पुगे । पटक–पटक महाधिवेशन प्रतिनिधि बनेका उनी प्रजातान्त्रिक सेनानीको केन्द्रीय सदस्यसमेत रहे ।

लामो राजनीतिक यात्रामा उनले पार्टीभित्र भएका विभिन्न परिवर्तन र नेतृत्वका अनेक चरण नजिकबाट देखेका छन् । राजनीतिलाई पद प्राप्त गर्ने माध्यमभन्दा पनि समाजप्रतिको जिम्मेवारीका रूपमा लिनुपर्ने उनको बुझाइ छ ।

बराल अब राजनीतिमा नयाँ सोच र नयाँ नेतृत्व आवश्यक रहेको बताउँछन् । समयसँगै जनताको अपेक्षा पनि बदलिएकाले राजनीतिक दलहरूले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने उनको धारणा छ ।

बीपी कोइरालाको विचार र आदर्शलाई समयअनुसार अघि बढाउनुपर्ने बताउँदै उनी पुरानै शैलीमा राजनीति गरिरहन नहुनेमा जोड दिन्छन् ।

उनका अनुसार देशलाई अहिले निर्भीक, जोसिलो, ऊर्जाशील र चुनौती बुझेर काम गर्न सक्ने नेतृत्व चाहिएको छ । त्यसका लागि युवालाई जिम्मेवारी दिनुपर्ने उनको भनाइ छ ।

नयाँ पुस्तालाई अवसर दिँदा पुरानो पुस्ताको अनुभवलाई पनि उपयोग गर्नुपर्ने उनी बताउँछन् । युवाको ऊर्जा र अग्रजहरूको अनुभव मिलाउन सके पार्टी र देश दुवैलाई फाइदा पुग्ने उनको विश्वास छ ।

आठ दशक उमेर पार गरिसकेका बराल अझै पनि राजनीतिक परिवर्तनको पक्षमा छन् । नेतृत्वका लागि उमेरभन्दा सोच, क्षमता र काम गर्ने इच्छाशक्ति महत्त्वपूर्ण हुने उनको बुझाइ छ ।

पुरानो पुस्ताको योगदान र अनुभवलाई सम्मान गर्दै युवालाई अघि बढाउनुपर्नेमा उनी जोड दिन्छन् । समयअनुसार राजनीतिक सोच र काम गर्ने शैली बदल्न सके मात्रै देशले अपेक्षित परिवर्तन हासिल गर्न सक्ने उनको विश्वास छ ।

Share News