काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापालाई सहमति जुटाउन सहयोग गर्दै उम्मेदवारी फिर्ता लिएका तथा उम्मेदवारी नै नदिएका नेताहरूको व्यवस्थापन अब चासोको विषय बनेको छ ।
१५ औं महाधिवेशनमा सभापतिदेखि उपसभापति र सहमहामन्त्रीसम्मका आकांक्षीहरू प्रतिस्पर्धाबाट पछि हटेपछि उनीहरूलाई पार्टीको भावी संरचनामा कसरी समेट्ने भन्ने प्रश्न थापा नेतृत्वसामु देखिएको हो ।
सभापतिमा उम्मेदवारी दिएका किशोरसिंह राठौर, खुला उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसे र डा. मीनेन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएका छन् ।
दलित सहमहामन्त्रीमा उम्मेदवारी दिएकी लक्ष्मी परियार पनि अन्तिममा प्रतिस्पर्धाबाट पछि हटेकी छन् ।
त्यस्तै, महामन्त्री वा सहमहामन्त्रीमध्ये कुनै एक पदमा उम्मेदवारी दिने घोषणा गरेका मीन विश्वकर्माले उम्मेदवारी नै दिएनन् ।
उपसभापति पदमा प्रतिस्पर्धाको तयारी गरेका ज्ञानेन्द्रबहादुर कार्की र सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी ईश्वरी न्यौपाने पनि चुनावी प्रतिस्पर्धामा सहभागी भएनन् ।
यी नेताहरूको उम्मेदवारी फिर्ता र प्रतिस्पर्धाबाट बाहिरिने निर्णयले कांग्रेसको नेतृत्व चयनमा सहमति निर्माणको प्रयासलाई बल पुगेको छ ।
डा. रिजालले गगन थापासँगको संवादपछि उम्मेदवारी फिर्ता लिएका हुन् । थापाले पदाधिकारीमा प्रतिस्पर्धा नगरे पनि उनको अनुभव र ज्ञान पार्टीका लागि उपयोग गर्न सकिने धारणा राखेका थिए ।
रिजालले पनि आफ्नो अनुभव पार्टीका लागि उपयोग गर्ने सन्दर्भमा थापाको आग्रहलाई सकारात्मक रूपमा लिएको बताएका थिए ।
त्यस्तै, राठौरले पनि थापाको आग्रहमा पार्टीलाई एकताबद्ध बनाउन उम्मेदवारी फिर्ता लिएको बताएका थिए । चालिसेले समेत थापाको आग्रहलाई सम्मान गर्दै प्रतिस्पर्धाबाट पछि हटेको जनाएका थिए ।
तर, उम्मेदवारी फिर्ता लिएका नेताहरूलाई कुन जिम्मेवारी दिने भन्ने विषयमा औपचारिक सहमति सार्वजनिक भएको छैन । उनीहरूको व्यवस्थापनलाई पद बाँडफाँटको पूर्वनिर्धारित सहमतिका रूपमा व्याख्या गर्न नहुने गगन निकट एक नेताले जानकारी दिए ।
कांग्रेसको नयाँ नेतृत्वका लागि यी नेताहरूको व्यवस्थापन राजनीतिक र संगठनात्मक दुवै दृष्टिले महत्त्वपूर्ण हुने ती नेताले बताए ।
राठौर, कार्की र विश्वकर्माजस्ता नेताहरूको विगतको राजनीतिक सम्बन्ध तथा पार्टीभित्रको प्रभावलाई ध्यानमा राख्दा उनीहरूलाई नेतृत्वको मूलधारमा कसरी समेटिन्छ भन्ने विषयले पार्टीभित्रको भावी शक्ति सन्तुलनलाई पनि प्रभावित गर्न सक्छ ।
थापाले उनीहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनयन गरेर, पार्टीका विभाग तथा अन्य संगठनात्मक जिम्मेवारी दिएर वा नीति निर्माण र संगठन विस्तारमा भूमिका प्रदान गर्नसक्छन् ? भन्ने हाम्रो जिज्ञासामा ती नेताले भने, ‘यी सम्भावना मात्र हुन् । वास्तविक व्यवस्थापनका लागि नेतृत्वले गर्ने निर्णय र जिम्मेवारी बाँडफाँट नै निर्णायक हुनेछ ।’
नेतृत्व चयनमा सहमति जुटाउनु र त्यसलाई दीर्घकालीन संगठनात्मक एकतामा बदल्नु फरक विषय भएको गगन निकट ती नेताले बताए ।
उनले भने, ‘उम्मेदवारी फिर्ता लिएका नेताहरूले पार्टीका लागि योगदान गर्ने सार्वजनिक प्रतिबद्धता जनाए पनि उनीहरूको अनुभव, राजनीतिक हैसियत र अपेक्षाअनुसार भूमिका सुनिश्चित गर्नु थापाका लागि चुनौतीपूर्ण विषय बन्न सक्छ ।’