भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ९ हजार बढीलाई स्वास्थ्य सेवा

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित ९ हजार ५६४ जनाले स्वास्थ्य सेवा पाएका छन् । 

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई (एचइओसी) का अनुसार प्रभावित क्षेत्रमा ३४ वटा आपतकालीन मेडिकल टोली परिचालन गरी स्वास्थ्य सेवा प्रदान गरिएको हो ।

बाढीका कारण घाइते तथा बिरामी भएका ३४४ जनालाई १९ वटा स्वास्थ्य संस्थामा उपचार गरिएको छ । 

उपचार गरिएकामध्ये ३०५ जना डिस्चार्ज भएका छन् भने तीन जनाको उपचार जारी छ । उपचाररत एक जना त्रिवि शिक्षण अस्पताल र दुई जना राष्ट्रिय ट्रमा सेन्टरमा छन् । उपचारका क्रममा चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

बाढी प्रभावितलाई आश्रय दिन नुवाकोटमा एक, काठमाडौँमा तीन, धादिङमा तीन र रसुवामा छ गरी चार जिल्लामा १३ वटा होल्डिङ सेन्टर स्थापना गरिएका छन् । 

ती केन्द्रमा हाल एक हजार ६३ जना बसोबास गरिरहेका छन् । उनीहरूमध्ये ५३० जना पुरुष र ५३३ जना महिला छन् ।

होल्डिङ सेन्टरमा नौ जना गर्भवती, २५ जना स्तनपान गराइरहेका आमा, तीन जना सुत्केरी, ८९ जना ज्येष्ठ नागरिक, ११ जना अपाङ्गता भएका व्यक्ति, दुई वर्षमुनिका १९ जना र पाँच वर्षमुनिका ७७ जना बालबालिका रहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै ती केन्द्रमा ४२० जनाले स्वास्थ्य सेवा पाएका छन् ।

विपद्बाट प्रभावित व्यक्तिका लागि मनोसामाजिक परामर्श तथा मानसिक स्वास्थ्य सेवा पनि सञ्चालन गरिएको छ । 

मन्त्रालयका अनुसार यस सेवामार्फत १७ हजार २९० जनासम्म पहुँच पुगेको छ । हाल ७० जना जनशक्ति फिल्डमा परिचालित छन् भने २२ जनालाई प्रत्यक्ष मनोसामाजिक परामर्श प्रदान गरिएको छ ।

बाढीले सातवटा स्वास्थ्य संस्थामा क्षति पुर्याएको छ । तीमध्ये चारवटामा पूर्ण र तीनवटामा आंशिक क्षति भएको छ । आंशिक क्षति भएका स्वास्थ्य संस्थाबाट सेवा सञ्चालन भइरहेको भए पनि दुईवटा स्वास्थ्य संस्थाको पहुँच मार्ग अवरुद्ध भएको मन्त्रालयले जनाएको छ ।

सम्भावित महामारी तथा सरुवा रोगको जोखिम न्यूनीकरण गर्न प्रभावित क्षेत्रमा रोग निगरानीलाई निरन्तरता दिइएको छ । स्थानीय तहबाट ज्वरो, झाडापखाला लगायतका बिरामीको व्यवस्थापन भइरहेको र जनस्वास्थ्यसम्बन्धी सावधानी अपनाउनसमेत मन्त्रालयले आग्रह गरेको छ ।

Share News