काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) का प्रमुख नेताहरू रिहा भएपछि आइतबार दिउँसो संगठनले पत्रकार सम्मेलन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कडा प्रहार गरेको छ ।
पत्रकार सम्मेलनलाई आशुतोष रांका, सौरव दास र रत्ना सिंहले सम्बोधन गरेका थिए ।
सीजेपी प्रमुख अभिजीत दीपके भने पत्रकार सम्मेलनमा उपस्थित थिएनन् । हजुरआमाको निधन भएपछि उनी आफ्नो गाउँ फर्किएका छन् ।
पत्रकार सम्मेलनमा आशुतोष रांकाले भने, ‘नरेन्द्र मोदी भारतको इतिहासमा अहिलेसम्मकै सबैभन्दा कायर प्रधानमन्त्री हुन् ।’
त्यस्तै, सौरव दासले सरकारमाथि गम्भीर आरोप लगाउँदै भने, ‘यो त्यही सरकार हो, जसले नीरव मोदी र विजय माल्यालाई विमानमा चढाएर देशबाहिर पठायो । तर, हामीलाई भने विमानभित्रैबाट पक्राउ गर्न लगायो ।’
शनिबार हिरासतमा लिइएको घटनालाई लिएर पनि उनले केन्द्र सरकारमाथि गम्भीर आरोप लगाए ।
उनले भने, ‘हामीलाई अपहरण गर्दा कुनै कानुनी कागजी प्रक्रिया पूरा गरिएन । बरु माफिया डनको शैलीमा प्रहरी आएर हामीलाई उठाएर लग्यो । हाम्रा मोबाइल फोन जबर्जस्ती जफत गरियो । महिला प्रहरीमार्फत फोन लिइयो ।
तर, फोन जफत गर्दा कुनै कानुनी प्रक्रिया अपनाइएन ।’
दासले आफूहरूलाई अलग–अलग स्थानमा राखिएको पनि बताए ।
उनले भने, ‘मलाई आरकेपुरममा राखियो । आशुतोषलाई बल्लभगढ लगिएको थियो भने अभिजीतलाई पनि अन्यत्रै लगिएको थियो । हामीलाई लैजाँदै गर्दा आफ्नो वकिलसँग कुरा गर्न पाउनु हाम्रो मौलिक अधिकार भएको बताएका थियौं । तर, हिरासतमा लिने क्रममा कुनै अधिकार नहुने जवाफ दिइयो । दिल्ली प्रहरीले प्रदर्शनकारीहरूमाथि कस्तो बर्बरता गर्दो रहेछ भन्ने यसबाट अनुमान गर्न सकिन्छ ।’
दासले हिरासतमा लिइएका बेला जफत गरिएका मोबाइल फोनको दुरुपयोग हुन सक्ने आशंका पनि व्यक्त गरे ।
उनले भने, ‘अब हाम्रा मोबाइल फोनमा के–के गरिएको होला भन्ने आशंका छ । हाम्रा फोन क्लोन गरिएको हुन सक्ने डर छ । भोलि हाम्रा फोन क्लोन गरेर त्यसलाई प्रमाणका रूपमा प्रस्तुत गरिन सक्छ ।’