काठमाडौं । जापानमा चालु आर्थिक वर्षको अप्रिलदेखि सेप्टेम्बरसम्मको अवधिमा कर्पोरेट टाट पल्टिने घटना १३ वर्षयताकै उच्च विन्दुमा पुगेका छन् । क्रेडिट अनुसन्धान संस्था ‘टोकियो शोको रिसर्च’का अनुसार यस अवधिमा कम्तीमा १० मिलियन येन (करिब ६३ हजार अमेरिकी डलर) ऋण भएका ५ हजार ३७३ कम्पनी टाट पल्टिएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा ३.९ प्रतिशतले बढी हो । सन् २०१३ को पहिलो छ महिनामा ५ हजार ५०५ कम्पनी टाट पल्टिएयता यो संख्या सबैभन्दा उच्च हो ।
तथ्यांकअनुसार टाट पल्टिएका कम्पनीहरूको कुल दायित्व २३.५ प्रतिशतले बढेर ८५६.१ अर्ब येन पुगेको छ । विगत चार वर्षमा पहिलोपटक यस्तो दायित्वमा वृद्धि देखिएको हो ।
यो संकटको मुख्य मारमा साना व्यवसाय परेका छन् । १० जनाभन्दा कम कामदार रहेका साना फर्मले टाट पल्टिएका कुल कम्पनीमध्ये ९० प्रतिशत हिस्सा ओगटेका छन् । आर्थिक दबाब बढ्नुमा श्रमिकको अभाव र बढ्दो मूल्यवृद्धि प्रमुख कारण देखिएका छन् । प्रतिवेदनअनुसार श्रमिक अभावसँग सम्बन्धित टाट पल्टिने घटना १७.१ प्रतिशतले बढेर २४० पुगेका छन् भने महँगीका कारण समस्यामा परेका व्यवसायको संख्या १७.८ प्रतिशतले बढेर ४३६ पुगेको छ ।
क्षेत्रगत रूपमा हेर्दा सेवा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ १ हजार ८२८ कम्पनी टाट पल्टिएका छन् । त्यसपछि निर्माण क्षेत्रमा १ हजार ३५ कम्पनी टाट पल्टिएका छन् ।
आगामी दिनमा थप जोखिम बढ्न सक्ने अर्थशास्त्रीहरूले संकेत गरेका छन् । बैंक अफ जापानले ब्याजदर बढाएपछि ऋणको लागत बढेको छ । टोकियो शोको रिसर्चले चालु आर्थिक वर्षको दोस्रो छ महिनामा ब्याजदर वृद्धिको प्रत्यक्ष प्रभाव व्यापारिक टाट पल्टिने घटनाको संख्यामा देखिने अनुमान गरेको छ ।