स्वीस घडी बजारमा रोलेक्सको एकछत्र राज

यसकारण महँगा हुन्छन् स्विस घडी

काठमाडौं । रोलेक्स किन्नु आफैमा एउटा अनौठो अनुभव हो । स्विस घडी कम्पनीका आधिकारिक विक्रेताकहाँ राखिएका राखिएका जुनसुकै मोडल हेरे पनि तपाईंले एउटै जवाफ पाउनुहुन्छ, ‘यो घडी अहिले उपलब्ध छैन ।’

तपाईं १४ हजार स्विस फ्र्याङ्क (१६ हजार ८०० अमेरिकी डलर) खर्च गर्न चाहनुहुन्छ भने रोलेक्सको एउटा घडीका लागि पनि आफ्नो नाम लेखाउनुपर्ने हुन्छ । यो रकम रोलेक्स घडीको औसत खुद्रा मूल्य हो ।

हरेक दिन हजारौं मानिस रोलेक्सका लागि आफ्नो नाम लेखाउँछन् । गत वर्ष रोलेक्सले करिब १२ लाख घडी बिक्री गरेको थियो, जसबाट कम्पनीले ११ अर्ब स्विस फ्र्याङ्कभन्दा बढी आम्दानी गर्यो ।

सन् २०२० को दशकको सुरुतिर कम्पनीको आम्दानी करिब ८ अर्ब स्विस फ्र्याङ्क थियो । घडी बिक्रीको सङ्ख्या भने खासै बढेको थिएन । आम्दानी बढ्नुको मुख्य कारण मूल्यवृद्धि थियो ।

स्विस घडी उद्योगका अधिकांश कम्पनीका लागि अहिले चुनौतीपूर्ण समय छ । पछिल्लो एक दशकमा स्विस घडीको निर्यात परिमाण आधाले घटेको छ । निर्यातले यस उद्योगको कुल बिक्रीको ९५ प्रतिशत हिस्सा ओगट्छ । 

null

रोलेक्सका विभिन्न मोडेलहरू ।

इलेक्ट्रोनिक प्रणालीबाट चल्ने क्वार्ट्ज घडीको बिक्रीमा स्मार्ट घडीको बढ्दो लोकप्रियताले विशेष असर पारेको छ ।  अधिकांश स्मार्ट घडी एसियामा उत्पादन हुन्छन् । तर रोलेक्स र केही अन्य विलासी घडी निर्माता कम्पनीका लागि भने अहिलेको समय विगतभन्दा राम्रो छ ।

निर्यात हुने घडीको सङ्ख्या घटे पनि तिनको कुल मूल्य भने बढिरहेको छ । अगस्टमा स्विस घडीको निर्यात मूल्य अघिल्लो वर्षको सोही महिनाको तुलनामा ९.१ प्रतिशत बढी थियो । निर्यात मूल्यमा वार्षिक वृद्धि देखिएको यो लगातार चौथो महिना हो ।

स्विट्जरल्यान्डमा करिब ४५० घडी ब्रान्ड छन् । तर गत वर्ष सबैभन्दा विलासी मानिएका पाँच ब्रान्ड रोलेक्स, कार्टियर, पाटेक फिलिप, ओमेगा र अडेमार पिगेले मात्रै उद्योगको कुल आम्दानीको ६० प्रतिशत हिस्सा ओगटे । ओमेगाबाहेक यी सबै ब्रान्डले बजारमा आफ्नो हिस्सा बढाएका छन् ।

विशेषगरी अत्यन्त महँगा घडीको बजार निकै बलियो देखिएको छ । सन् २०२५ मा ५० हजार स्विस फ्र्याङ्कभन्दा बढी मूल्यका घडीले स्विस घडी निर्यातको कुल मूल्यमा ३७ प्रतिशत हिस्सा ओगटे । 

सन् २०२४ मा यस्तो हिस्सा ३३.५ प्रतिशत मात्रै थियो । यसको एउटा कारण बहुमूल्य धातुको मूल्यमा भएको वृद्धि हो । तर अत्यन्त धनी मानिसहरूको आर्थिक अवस्थाले पनि यसमा महत्त्वपूर्ण भूमिका खेलेको छ । उनीहरू अरूभन्दा फरक र विशेष घडीमा खर्च गर्न तयार छन् ।

‘कोभिड महामारी र त्यसपछिका वर्षहरूले घडी उद्योगलाई थप प्रयोगशील बनाएका छन्,’ स्विस पारिवारिक स्वामित्वको कम्पनी नोरकेनका प्रमुख कार्यकारी बेन कुफर भन्छन् । नोरकेनका घडीको औसत मूल्य ४ हजार ५०० स्विस फ्र्याङ्क छा ।

धेरै घडी ब्रान्डले आफूलाई अरूभन्दा फरक देखाउन नयाँ सामग्री र अझ परिष्कृत घडी सञ्चालन प्रणालीको विकासमा लगानी गर्छन् । नोरकेनले आफ्नो विलासी स्पोट्र्स घडी ‘वाइल्ड वन मेटियोराइट स्पेसल एडिसन’ को बाहिरी कभर बनाउन उच्च कार्यक्षमतायुक्त कार्बन फाइबर मिश्रित सामग्री प्रयोग गरेको छ । त्यसको डायल स्विडेनबाट प्राप्त फलामयुक्त उल्कापिण्ड काटेर बनाइएको हो । कम्पनीले यस घडीका जम्मा ३०० थान मात्रै उत्पादन गरेको छ ।

उकालो यात्रामा स्वाचलाई भने धक्का

महँगा र विलासी घडीप्रतिको बढ्दो आकर्षणले स्विट्जरल्यान्डको सबैभन्दा ठूलो सूचीकृत घडी निर्माता कम्पनी स्वाचलाई भने फाइदा पुर्याएको छैन ।

सन् १९८० को दशकमा स्वाचले स्विस घडी उद्योगलाई सङ्कटबाट जोगाएको श्रेय पाएको थियो । त्यतिबेला कम्पनीका आकर्षक डिजाइनका प्लास्टिक क्वार्ट्ज घडीले एसियाबाट आउने सस्ता घडीसँग प्रतिस्पर्धा गरेका थिए । तर अहिले स्वाच आफै सङ्घर्ष गरिरहेको छ ।

बैंक भोन्टोबेलका जाँ फिलिप बर्ट्स्कीका अनुसार स्वाचले बजारमा बढिरहेको ‘प्रिमियमाइजेसन’ अर्थात् उच्च मूल्य र गुणस्तरका उत्पादनतर्फको रूपान्तरणको लहरलाई पर्याप्त रूपमा समात्न सकेन । स्वाचको स्वामित्वमा ओमेगालगायत अन्य विलासी ब्रान्ड पनि छन्, तर ती ब्रान्डको व्यावसायिक नतिजा मिश्रित छ ।

सन् २०२३ को सुरुतिरको तुलनामा स्वाचको सेयर मूल्य ४० प्रतिशतभन्दा बढी घटेको छ । सन् २०१३ को अन्त्यतिर पुगेको उच्चतम मूल्यबाट तुलना गर्दा यसको सेयर मूल्य झन्डै ७० प्रतिशत तल छ । गत वर्ष कम्पनीको खुद नाफा झन्डै ९० प्रतिशतले घट्यो ।

स्वाचको उत्पादन संरचना पनि आवश्यकताभन्दा ठूलो छ । कुनै समय कम्पनीले स्विट्जरल्यान्डका १५० वटा कारखानाबाट वार्षिक १ करोड ५० लाखसम्म घडी उत्पादन गर्थ्यो । अहिले वार्षिक उत्पादन घटेर ४० लाखमा सीमित भएको छ । तर कम्पनीले तीमध्ये कुनै पनि कारखाना बन्द गरेको छैन ।

गत मे महिनामा १५१ वर्ष पुरानो विलासी घडी निर्माता अडेमार पिगेसँगको सहकार्यले स्वाचलाई केही राहत दियो । दुवै कम्पनीले अडेमार पिगेको प्रसिद्ध घडी ‘रोयल ओक’ को डिजाइन झल्किने प्लास्टिकको पकेट घडी ‘रोयल पप’सार्वजनिक गरे । त्यसपछि विश्वभरका खरिदकर्ता घडी किन्न घण्टौंसम्म लाइनमा बसे ।

सन् २०२२ मा स्वाच र ओमेगाबीच भएको यस्तै सहकार्यले महामारीपछि कम्पनीलाई पुनः नाफामा फर्काउन मद्दत गरेको थियो । पछिल्लो सहकार्यले सन् २०२५ को पहिलो छ महिनामा बिक्री बढायो । यद्यपि, कम्पनीको खुद नाफा भने अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेकै थियो ।

कार्टियरबाहेक प्रमुख विलासी घडी ब्रान्डहरू सबै निजी स्वामित्वमा छन् । तीमध्ये धेरै ब्रान्ड अडेमार र पिगे परिवारजस्ता संस्थापक परिवारकै स्वामित्वमा छन् । यीमध्ये अधिकांश ब्रान्ड १०० वर्षभन्दा पुराना छन् । तर बजारमा बढिरहेको महँगा घडीप्रतिको आकर्षणबाट नयाँ कम्पनीहरूले पनि लाभ लिन सक्छन् । सन् २०१८ मा स्थापना भएको नोरकेनले अहिले वार्षिक १० हजारसम्म घडी बिक्री गर्छ ।

यसकारण महँगा हुन्छन् स्विस घडी

विश्व बजारमा स्विस घडीलाई विलासिता, उत्कृष्ट शिल्पकला र उच्च गुणस्तरको प्रतीक मानिन्छ । सामान्य घडीले पनि समय बताउँछ भने स्विस घडीका लागि लाखौंदेखि करोडौं रुपैयाँ किन खर्च गरिन्छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।

स्विस घडी महँगो हुनुको प्रमुख कारण यसको निर्माण प्रक्रिया हो । विशेषगरी उच्चस्तरीय मेकानिकल घडीमा सयौँ ससाना पुर्जा प्रयोग गरिन्छन् । ती पुर्जालाई अत्यन्त सूक्ष्मताका साथ निर्माण, संयोजन र परीक्षण गर्न दक्ष घडी निर्माताको लामो समय र मेहनत लाग्छ ।

यस्ता घडीमा प्रयोग हुने जटिल मेकानिकल प्रविधिले पनि मूल्य बढाउँछ । टुरबियोन, पर्पेचुअल क्यालेन्डर र मिनेट रिपिटरजस्ता विशेषताले घडी निर्माणलाई थप चुनौतीपूर्ण बनाउँछन् ।

Arnold & Son Tourbillon Chronometer No. 36

टुर्बियोन संसारकै जटिल र प्रतिष्ठित मेकानिकल घडी प्रविधिमध्ये एक हो । 

त्यस्तै, सुन, प्लाटिनम, बहुमूल्य रत्न र उच्च गुणस्तरका सामग्रीको प्रयोगले पनि लागत बढाउँछ । सीमित उत्पादन, हातैले गरिने सूक्ष्म फिनिसिङ र कडा गुणस्तर परीक्षण यसका अन्य कारण हुन् ।

रोलेक्स, पाटेक फिलिप र भासेरोन कन्स्टान्टिनजस्ता प्रतिष्ठित ब्रान्डको लामो इतिहास, विश्वसनीयता र प्रतिष्ठाले समेत मूल्य निर्धारणमा ठूलो भूमिका खेल्छन् ।

यद्यपि, सबै स्विस घडी महँगा हुँदैनन् र महँगो हुँदैमा समय मापनमा सबैभन्दा सटीक हुन्छन् भन्ने पनि होइन । आधुनिक क्वार्ट्ज घडी धेरै मेकानिकल घडीभन्दा सटीक हुन सक्छन् ।

What Is A Perpetual Calendar Watch And How Does It Function?

पर्पेचुअल वाच भन्नाले सामान्यतया दिन, मिति, महिना र लिप वर्षसमेत स्वतः गणना गरी पात्रो मिलाइरहने विशेष प्रकारको घडीलाई बुझिन्छ । 

रोलेक्स अझै पनि बजारको राजा

रोलेक्सको दबदबा भने कायमै छ । यसको बिक्री दोस्रो स्थानमा रहेको कार्टियरको भन्दा तीन गुणा बढी छ ।

रोलेक्सको स्वामित्व सन् १९४५ मा कम्पनीका सन्तान नभएका संस्थापक हान्स विल्सडोर्फले स्थापना गरेको परोपकारी ट्रस्ट ‘हान्स विल्सडोर्फ फाउन्डेसन’सँग छ । कम्पनीको नाफा अनुसन्धान तथा विकासमा पुनः लगानी गरिन्छ । साथै स्विट्जरल्यान्डको जेनेभा क्यान्टोनमा परोपकारी कार्यलाई पनि सहयोग गरिन्छ ।

null

रोलेक्सले आफ्ना घडीको सीमित उपलब्धता नियोजित व्यावसायिक रणनीतिको परिणाम नभएको बताउँदै आएको छ । कम्पनीका अनुसार यसको मुख्य ध्यान उत्कृष्ट कारीगरीमा केन्द्रित छ, जसका कारण उत्पादन बढाउन समय लाग्छ ।

रोलेक्सको लोकप्रियता र सीमित उपलब्धताले एउटा कुरा शानसँग बताउँछ । त्यो हो, बजारमा सबैभन्दा दुर्लभ वस्तु घडी मात्रै होइन, त्यसलाई बनाउन लाग्ने समय पनि हो ।

Share News