काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीका संस्थापक तथा आधारभूत सेयरधनीले सेयर बिक्री गर्ने सम्बन्धमा जारी निर्देशन संशोधन गरेको छ । संशोधित व्यवस्थाअनुसार प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का बेला कायम रहेका आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा पाँच कारोबार दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्नेछ ।
बोर्डले धितोपत्र कारोबारलाई सुदृढ, प्रभावकारी तथा विश्वसनीय बनाउने उद्देश्यले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी गत भदौ ९ गते निर्देशन जारी गरेको थियो । तर, बोर्डले डेढ महिनामै उक्त व्यवस्था परिमार्जन गरेको हो ।
यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीका कुनै पनि आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको पाँच प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा बिक्री गर्नुभन्दा १५ दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था थियो । कम्पनीले उक्त सूचना नेप्सेमार्फत सार्वजनिक गर्नुपर्ने र सूचनाको वैधता तीन महिनासम्म कायम रहने व्यवस्था थियो ।
संशोधित निर्देशनले सेयर बिक्रीसम्बन्धी सूचनाको समयसीमा र लागू हुने अवस्थालाई परिवर्तन गरेको छ । अब धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ बमोजिमको लकइन अवधि समाप्त भएपछि आईपीओ निष्कासनका बेला कायम रहेका आधारभूत सेयरधनीले आफ्नो स्वामित्वको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा पाँच कारोबार दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी दिनुपर्नेछ ।
सेयर बिक्रीको आशयसम्बन्धी सूचना प्राप्त भएपछि सूचीकृत कम्पनीले यथाशीघ्र नेप्सेमार्फत सार्वजनिक गर्नुपर्नेछ । यस्तो सूचनाको वैधता भने तीन महिनासम्म कायम रहनेछ ।
बोर्डले निर्देशनमा सेयर खरिदसम्बन्धी जानकारी सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि थप गरेको छ । संशोधित निर्देशनको बुँदा १(क) अनुसार सेयर बिक्री गर्ने आशयले सूचना सार्वजनिक गराएका सेयरधनीले आफूले बिक्री गर्न चाहेको सेयर बिक्री नगरेको वा पूर्ण रूपमा बिक्री गर्न नसकेको अवस्थामा पुनः सोही कम्पनीको सेयर खरिद गरेमा त्यसको विवरण सम्बन्धित कम्पनीलाई दिनुपर्नेछ ।
यस्तो अवस्थामा सेयर खरिदको कारोबार सम्पन्न भएपछि यथाशीघ्र सेयरको मूल्य र परिमाण खुलाएर सूचीकृत कम्पनीलाई जानकारी गराउनुपर्नेछ । कम्पनीले प्राप्त विवरण नेप्सेमार्फत यथाशीघ्र सार्वजनिक गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।