डोलेश्वर भिलेजको ११ औं साधारणसभा सम्पन्न, १६ लाख कित्ता आईपीओ ल्याउने

काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले आफ्नो जारी पुँजीको ३० प्रतिशत आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । 

कम्पनीले १६ लाख २० हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदनसमेत दिइसकेको जनाएको छ ।

बिहीबार सम्पन्न कम्पनीको ११औं वार्षिक साधारणसभाले आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव अघि बढाएको हो ।

साधारणसभाले रामनाथ मैनाली, बुद्धिप्रसाद पोखरेल, डोरबहादुर भण्डारी, सृष्टि पोखरेल, छविलाल लुइँटेल र ध्रुवराज पोख्रेललाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । 

निर्वाचित सञ्चालक समितिको पहिलो बैठकले रामनाथ मैनालीलाई अध्यक्ष तथा टिकाध्वज भण्डारीलाई स्वतन्त्र सञ्चालकमा चयन गरेको छ ।

२०७२ सालदेखि सञ्चालनमा रहेको रिसोर्टले आईपीओबाट प्राप्त पुँजीलाई व्यवसाय विस्तार तथा पूर्वाधार विकासमा परिचालन गर्ने योजना बनाएको छ । 

कम्पनीले रिसोर्टलाई चारतारे स्तरमा स्तरोन्नति गर्दै थप आवासीय कोठा, स्विमिङ पुल, स्पा, ज्याकुजी, सेमिनार हल तथा मनोरञ्जन क्षेत्र विस्तार गर्ने जनाएको छ ।

कम्पनीले पर्यटन व्यवसायसँगै कृषि, ऊर्जा, उद्योग, पूर्वाधार, स्वास्थ्य, शिक्षा लगायतका उत्पादनशील क्षेत्रमा समेत लगानी विस्तार गर्ने लक्ष्य लिएको छ । यसबाट व्यवसायको दायरा विस्तार गर्दै शेयरधनीलाई उचित प्रतिफल दिने कम्पनीको योजना छ ।

Share News