विमानस्थलबाट ४६ लाखभन्दा बढीको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको नेपाली तथा विदेशी मुद्रासहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

हङकङ जान लागेका ७२ वर्षीय चिनियाँ नागरिक सुओलाङलाई नियमित सुरक्षा जाँचका क्रममा अवैध मुद्रा सहित नियन्त्रणमा लिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

गत भदौ २० गते साँझ करिब ८ बजेर १४ मिनेटमा क्याथे प्यासिफिक एयरवेजमार्फत हङकङ जान लागेका उनको साथ तथा लगेज जाँच गर्दा विभिन्न देशका मुद्रा फेला परेको थियो ।

उनको साथबाट नेपाली रुपैयाँ ११ लाख ८६ हजार बरामद भएको छ ।

त्यस्तै, ५१ हजार ७९० चिनियाँ युआन बरामद भएको छ। यसको नेपाली रुपैयाँमा करिब ११ लाख ८९ हजार ६१६ बराबर हुन्छ ।

यसैगरी, ५ हजार ९६५ अमेरिकी डलर अर्थात् करिब ९ लाख १८ हजार ४९१ रुपैयाँ, ४९ हजार ९९० हङकङ डलर अर्थात् करिब ९ लाख ८० हजार ८०४ रुपैयाँ र २ हजार ६० यूरो अर्थात् करिब ३ लाख ५६ हजार ७३० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

उनको साथबाट ५० अष्ट्रेलियन डलर पनि बरामद भएको छ। यसको नेपाली रुपैयाँमा करिब ५ हजार ३६६ बराबर हुन्छ ।

बरामद भएको मुद्राको स्रोत र प्रयोजनबारे आवश्यक अनुसन्धान गर्नुपर्ने देखिएपछि चिनियाँ नागरिकलाई बरामद रकमसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोक पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

Share News