राहुल गान्धीसहितका विपक्षी दलका नेतालाई किन हिरासतमा लिइयो ?

काठमाडौं । भारतका लोकसभा विपक्षी दलका नेता राहुल गान्धीसहित विपक्षी दलका नेताहरूलाई मंगलबार दिल्ली प्रहरीले हिरासतमा लिएको छ । 

निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्दै आयोगको कार्यालयतर्फ अघि बढ्ने क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

विपक्षी दलहरूको ‘इन्डिया’ गठबन्धनका सांसद तथा नेताहरू संसद् भवनबाट निर्वाचन आयोगको कार्यालयतर्फ मार्च गर्दै थिए । उनीहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा, मतदाता नामावलीको ‘स्पेसल इन्टेन्सिभ रिभिजन’ (एसआईआर) प्रक्रिया खारेज गर्नुपर्ने तथा निर्वाचन प्रक्रियामा थप सुधार गर्नुपर्ने माग राखेका थिए ।

प्रहरीले निर्वाचन आयोगको कार्यालयतर्फ जाने बाटोमा ब्यारेकेड राखेर प्रदर्शनकारीलाई रोकेको थियो । त्यस क्रममा विपक्षी सांसदहरूले सडकमा धर्ना दिएका थिए । 

राहुल गान्धी ब्यारेकेडमाथि चढेर राष्ट्रिय झन्डा फहराउँदै देखिएका थिए । त्यसपछि प्रहरीले उनलाई र अन्य विपक्षी नेताहरूलाई नियन्त्रणमा लिएर बसमा राखी विभिन्न प्रहरी कार्यालयतर्फ लगेको थियो ।

राहुल गान्धी र विपक्षी दलहरूले मतदाता नामावली संशोधनका क्रममा अनियमितता भएको आरोप लगाउँदै आएका छन् । उनीहरूले यस्तो प्रक्रियाले मतदाताको अधिकार प्रभावित पार्न सक्ने दाबी गरेका छन् । 

निर्वाचन आयोग र भारतीय जनता पार्टी (भाजपा) भने विपक्षीहरूको आरोप अस्वीकार गर्दै आएका छन् । आयोगले एसआईआरसम्बन्धी निर्णयहरू सर्वसम्मत रूपमा भएको बताएको छ ।

विपक्षी नेताहरूले मुख्य निर्वाचन आयुक्तसँग भेटेर आफ्ना माग राख्न खोजेको बताएका थिए । तर निर्वाचन आयोगले भने प्रमुख निर्वाचन आयुक्त वा अन्य निर्वाचन आयुक्तसँग भेटका लागि विपक्षी पक्षबाट औपचारिक अनुरोध प्राप्त नभएको जनाएको छ ।

प्रहरीका अनुसार प्रदर्शनकारीहरू ब्यारेकेड पार गरेर निर्वाचन आयोगतर्फ अघि बढ्न खोजेपछि उनीहरूलाई हिरासतमा लिइएको हो । घटनामा राहुल गान्धीसँगै उनकी बहिनी तथा कांग्रेस सांसद प्रियंका गान्धी वाड्रा, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, तृणमूल कांग्रेसका नेता डेरेक ओब्रायनलगायत विपक्षी नेताहरू पनि हिरासतमा परेका थिए ।

राहुल गान्धीसहित हिरासतमा लिइएका विपक्षी नेताहरूलाई पछि प्रहरीले रिहा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो घटना भारतमा मतदाता नामावली संशोधन र निर्वाचन आयोगको भूमिकालाई लिएर विपक्षी दलहरूले गरिरहेको आन्दोलनकै क्रममा भएको हो ।

Share News