नेपाली कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी

काठमाडौंं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री जीवनबहादुर शाहीले कर्णालीको समृद्धि र देशको समुन्नतिका लागि पक्षमा दृढ रहेको बताएका छन् । काठमाडौंमा जारी कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिँदै केन्द्रीय सदस्य शाहीले पिछडिएको क्षेत्र र कर्णाली प्रदेशको सशक्त बनाउने बताएका हुन् ।

नेता शाहीले प्रभावकारी प्रतिनिधित्वका लागि पार्टीको महाधिवेशनमा सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारी दिएको स्पष्ट पारे । शाहीले कर्णालीको भूगोल, उत्पीडित, दलित, जनजाति तथा पिछडिएको क्षेत्रका जनताको आवाजलाई पार्टीको नीति निर्माण तह र केन्द्रीय पदाधिकारी तहसम्म पु¥याउनका लागि आफूले उम्मेदवारी दिएको बताए ।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री शाहीले कर्णालीको समग्र विकास र त्यहाँका जनताको जीवनस्तर उकास्नु नै आफ्नो मुख्य राजनीतिक एजेण्डा रहेको उल्लेख गरे । ‘विकासबिना कुनै पनि भूगोलको समृद्धि सम्भव छैन र विकास अभावमा जनताको मनोबल पनि उच्च हुन सक्दैन । भौगोलिक रूपमा पछि पारिएको कर्णालीलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन र समावेशीकरणलाई व्यवहारमा उतार्न पदाधिकारी तहमा कर्णालीको प्रतिनिधित्व अत्यावश्यक छ,’ शाहीले भने ।

यसअघि पनि ११औँ महाधिवेशनदेखि १४औँ महाधिवेशनसम्म लगातार केन्द्रीय सदस्यमा निर्वाचित भइ सहमहामन्त्रीमा समेत प्रतिस्पर्धा गरिसकेको प्रसंग उल्लेख गर्दै नेता शाहीले कर्णालीको पीडा र भूगोलको अवस्था बुझेको नेतृत्वले मात्रै यस क्षेत्रको सही प्रतिनिधित्व गर्न सक्ने दावी गरे । शाहीले अनुभव र युवा जोशको समिश्रणपार्टीभित्र चलिरहेको युवा नेतृत्वको बहस र पुस्तान्तरणका विषयमा टिप्पणी गर्दै राजनीति र पेसागत दक्षता फरक कुरा भएको बताए ।

शाहीले पार्टी र देश सञ्चालनका लागि अनुभवी पुराना नेताहरूको मार्गदर्शन र युवाको नयाँ विचार तथा उत्साहको समीश्रण हुनुपर्नेमा जोड दिए । ‘एउटा परिवारमा बाजे, बुबा र छोराको जुन सम्बन्ध र सहकार्य हुन्छ, राजनीतिमा पनि त्यस्तै अन्तरपुस्ता समन्वय आवश्यक छ, केवल युवा वा केवल पाका नेताहरूले मात्रै सिङ्गो देश वा पार्टी चलाउन सक्दैनन्, त्यसैले अनुभव र नवीनताको सन्तुलन हुनुपर्छ,’ उनले भने ।

नेता शाहीले पार्टीले ३५ वर्षमुनिका युवालाई खुला तथा आरक्षण कोटाबाट अनिवार्य प्रतिनिधित्व गराउने व्यवस्था गरेको र ती युवालाई अग्रजहरूले राजनीति र मुलुकको रणनीतिबारे प्रशिक्षित र मार्गदर्शन गर्दै लैजानुपर्ने धारणा व्यक्त गरे ।

उनले महाधिवेशनले पार्टीलाई एकढिक्का बनाउनेविगतका चुनाव तथा आन्तरिक अभ्यासमा केही उतारचढाव आए पनि यो महाधिवेशनले नेपाली कांग्रेसलाई एकीकृत र थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले संगठनभित्रका असन्तुष्ट पक्ष र बाहिरिएका साथीहरूलाई समेटेर अगाडि बढ्न नेतृत्व तहबाट पहल भइरहेको जानकारी दिए ।

‘सबैलाई मिलाएर लैजाने वातावरण निर्माण भइरहेको छ । यो महाधिवेशन एकताको महाधिवेशन बन्नेछ र यसले पार्टीलाई नयाँ ऊर्जाका साथ एकढिक्का बनाएर अगाडि बढाउनेछ,’ नेता शाहीले भने । 

Share News