काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर विभिन्न विपद्का १७ वटा घटना भएका छन् । ती घटनामा तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
विपद्का घटनाबाट करिब ५० लाख ४५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको दैनिक विपद् बुलेटिन अनुसार असोज १९ गते बिहान १० बजेदेखि असोज २० गते बिहान १० बजेसम्म उक्त घटना भएका हुन् । प्राधिकरणका अनुसार डडेल्धुरामा सर्पदंशबाट एक जनाको मृत्यु भएको छ । परशुराम नगरपालिका–१२ की १७ वर्षीया बालिकाको सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तै, बागलुङको निसीखोला गाउँपालिका–३ मा बाटो स्तरोन्नतिको क्रममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी सहायक ठेकेदार र एक मजदुरको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् ।
सिरहा, नवलपरासी पूर्व, बाँके, कैलाली र डडेल्धुरामा गरी सर्पदंशका पाँच वटा घटना भएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–१७ मा भने जन्मदिन मनाइरहेको स्थान नजिकै चट्याङ पर्दा सात जना घाइते भएका छन् । घाइते हुनेमा एक बालक, तीन बालिका र तीन महिला रहेका छन् ।
यस्तै, भक्तपुर, चितवन र लमजुङमा तीन वटा आगलागीका घटना भएका छन् । भक्तपुरमा भएको आगलागीबाट मात्रै करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।
पहिरोका कारण सल्यान र प्युठानमा सडकसमेत अवरुद्ध भएका छन् । सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित राप्ती राजमार्ग र प्युठानको बहाने–बाग्दुला सडकखण्डमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो ।