काठमाडौं । धादिङको गजुरी गाउँपालिका-८ की ३२ वर्षीया रविना तामाङले सोमबार (हिजो) अपरान्ह परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, थापाथलीमा शल्यक्रियामार्फत दोस्रो सन्तान जन्माइन् ।
तर, बच्चा जन्मिएको केही घण्टामै उनको मृत्यु भएपछि परिवारले अस्पतालको उपचार प्रक्रिया र लापरवाहीमाथि गम्भीर प्रश्न उठाएको छ ।
परिवारका अनुसार गत आइतबार प्रसूतिका लागि अस्पताल भर्ना भएकी रविनाको सोमबार अपराह्न करिब ३ बजे शल्यक्रिया गरिएको थियो ।
शल्यक्रियापछि केही समयसम्म उनको अवस्था सामान्य थियो । त्यसपछि उनलाई वार्डमा सारिएको थियो ।
वार्डमा पुगेपछि उनको स्वास्थ्यमा समस्या देखिएको र रक्तचाप उच्च रहेको परिवारले जनाएको छ । चिकित्सकको सल्लाहमा उनलाई आईसीयूतर्फ लैजाने क्रममा रविना अचानक बेहोस भएकी थिइन् । त्यसपछि उनी होसमा नफर्किएको परिवारको भनाइ छ ।
पीडित परिवार ।
रविनासँगै अस्पतालमा रहेकी उनकी दिदीले शल्यक्रियापछि बिरामीलाई पर्याप्त निगरानीमा राख्नुपर्नेमा चाँडै वार्डमा सारिएको दाबी गरेकी छन् । उपचार प्रक्रियामै कमजोरी भएको उनको आरोप छ ।
आफन्तका अनुसार आईसीयूतर्फ लैजाने क्रममा अर्को घटना पनि भएको थियो । शल्यक्रिया गरिएकी रविनालाई स्टेचरमा राखेर लैजानुपर्नेमा ह्विलचेयरमा राखिएको र विपरीत दिशाबाट ल्याइँदै गरेको स्टेचरसँग ह्विलचेयर ठोक्किएको परिवारको आरोप छ ।
ठोक्किएपछि रविना छेउमै रहेको टेबुलमा लडेकी र त्यसपछि उनको शरीरमा कम्पन देखिएको परिवारले जनाएको छ । त्यसपछि उनी बेहोस भएकी र पुनः होसमा नफर्किएको आफन्तको भनाइ छ ।
रविनाको मृत्यु अस्पतालको लापरवाहीकै कारण भएको हो वा उपचारका क्रममा उत्पन्न आकस्मिक स्वास्थ्य जटिलताका कारण भएको हो, यसको यकिन भने अनुसन्धानपछि मात्रै हुने देखिन्छ ।
परिवारले भने उपचार प्रक्रियाको निष्पक्ष छानबिन गरी वास्तविक कारण सार्वजनिक गर्न माग गरेको छ ।
परिवारका अनुसार रविनालाई यसअघि कुनै गम्भीर स्वास्थ्य समस्या थिएन । उनका १२ वर्षीय छोरा छन्, जसलाई उनले सामान्य प्रसूतिमार्फत जन्माएकी थिइन् ।

यसपटक पनि प्रसूतिको मिति अर्को महिना रहेको भए पनि अचानक व्यथा लागेपछि उनलाई अस्पताल ल्याइएको परिवारले जनाएको छ ।
रविनाका श्रीमान् लामो समय विदेश बसेर दुई वर्षअघि मात्रै घर फर्किएका थिए । दोस्रो सन्तानको आगमनसँगै परिवारमा खुसीको माहोल बनेको थियो । तर, सोमबार दिउँसो जन्मिएको नवजात शिशुले आमाको काखसमेत पाउन नपाउँदै रविनाको मृत्यु भएको हो ।
घटनापछि आफन्त आक्रोशित बनेपछि अस्पताल परिसरमा तनावको अवस्था सिर्जना भएको थियो । सम्भावित थप तनाव रोक्न प्रहरीले अस्पताल परिसरमा सुरक्षा बढाएको छ ।
यस विषयमा अस्पताल प्रशासनसँग बुझ्दा अहिले पीडित पक्षसँग छलफल भइरहेकोले थप बोल्न नमिल्ने बताएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार अस्पताल प्रशासन, चिकित्सक र पीडित परिवारबीच घटनाबारे छलफल भइरहेको छ ।
‘अस्पताल प्रशासन र चिकित्सकहरूसँग पीडित परिवारको कुराकानी भइरहेको छ,’ एसपी थापाले भने ।
अस्पतालका अनुसार नवजात शिशुलाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।
परिवारले रविनाको मृत्युको वास्तविक कारण पत्ता लगाउन निष्पक्ष छानबिन गर्नुपर्ने र उपचार प्रक्रियामा लापरवाही भएको पुष्टि भए त्यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने माग गरेको छ ।