विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन सहरमा प्रभातफेरी

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको आयोजना तथा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसबीएएन) को सहकार्यमा देशका तीन प्रमुख सहरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।

विश्व लगानीकर्ता सप्ताहको पहिलो दिन आश्विन १९ गते पोखरा, विराटनगर र सुर्खेतमा एकैसाथ प्रभातफेरी कार्यक्रम सञ्चालन गरिएको हो । 

कार्यक्रममार्फत पुँजी बजार, लगानी तथा लगानीकर्ताको अधिकार र हितसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो ।

पोखरामा आयोजित कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले प्रभातफेरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

उनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा करिब ६०० जनाको सहभागिता रहेको थियो ।

त्यस्तै, विराटनगरमा बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यको प्रमुख आतिथ्यमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा करिब ३५० जनाको सहभागिता रहेको थियो । 

सुर्खेतमा बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको थियो, जहाँ करिब ४०० जनाको उपस्थिति रहेको थियो ।

प्रभातफेरी कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कर्मचारी, धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंकर, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, लगानीकर्ता लगायत पुँजी बजारसँग सम्बन्धित विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

विश्व लगानीकर्ता सप्ताहको अवसरमा आयोजना गरिएको प्रभातफेरीले पुँजी बजारप्रति सर्वसाधारणको बुझाइ अभिवृद्धि गर्नुका साथै लगानी गर्दा आवश्यक जानकारी हासिल गर्ने, जोखिम पहिचान गर्ने तथा सचेत र जिम्मेवार लगानी गर्ने संस्कृतिको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

विश्व लगानीकर्ता सप्ताह आश्विन १९ गतेदेखि २५ गतेसम्म एक साताभर मनाइँदैछ । 

सप्ताहका क्रममा पुँजी बजारसम्बन्धी साक्षरता अभिवृद्धि तथा लगानीकर्ता सचेतना बढाउने उद्देश्यले देशका विभिन्न ठाउँहरूमा पूँजी बजार सम्बन्धी प्रशिक्षण कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता, प्रस्तुतीकरण प्रतियोगितालगायतका विभिन्न कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

Share News