दशैंको मुखमा अनुगमन तीव्र, तीन व्यवसायमा भेटिए गम्भीर कैफियत

काठमाडौं । दशैं नजिकिँदै गर्दा बजार अनुगमनको क्रममा खाद्य व्यवसायको सरसफाइदेखि भण्डारण र अनुमतिपत्रसम्मका कैफियत भेटिएका छन् । 

अनुगमनका क्रममा तीन खाद्य व्यवसायमा विभिन्न कमजोरी भेटिएपछि खाद्य स्वच्छता कायम गर्न सुधारात्मक निर्देशन दिइएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, डिभिजन कार्यालय काठमाडौं तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसहितको संयुक्त टोलीले गत शुक्रबार गरेको अनुगमनमा विभिन्न कैफियत भेटिएको हो ।

खाद्य पदार्थ अव्यवस्थित रूपमा भण्डारण गरिएको, सरसफाइ कमजोर रहेको, कीट नियन्त्रणको उचित व्यवस्था नभएको र लेभल विवरण नभएका खाद्य पदार्थ बिक्री भइरहेको पाइएको हो ।

ललितपुरको झम्सीखेलस्थित मन्त्र थकाली रेष्टुरेन्ट प्रालिको भान्सा र भण्डारण व्यवस्थापनमा विभिन्न कमजोरी भेटिएका छन् । 

रेष्टुरेन्टको फ्रिजमा पकाइएका र नपकाइएका तथा शाकाहारी र मांसाहारी खाद्य पदार्थसमेत अव्यवस्थित रूपमा राखिएको अनुगमन टोलीले जनाएको छ ।

प्रयोग भइरहेको तेलमा कुल ध्रुवीय पदार्थ (टीपीएम) को मात्रा १९ दशमलव ५ पाइएको थियो । भान्सामा खुला फोहोर फाल्ने डब्बा प्रयोग गरिएको तथा कीट नियन्त्रण, भाँडा माझ्ने स्थान र पानी निकासको व्यवस्था पनि व्यवस्थित नभएको विभागले जनाएको छ ।

टोलीले रेष्टुरेन्टलाई फ्रिजमा खाद्य पदार्थ व्यवस्थित रूपमा राख्न, सरसफाइमा विशेष ध्यान दिन तथा कीट नियन्त्रण, भाँडा माझ्ने स्थान र पानी निकास प्रणाली सुधार गर्न निर्देशन दिएको छ । 

भान्साबाट फोहोर नियमित हटाउन र खाद्य स्वच्छता कायम गरेर मात्र खाना तयार गर्न पनि भनिएको छ ।

भैंसेपाटीस्थित पिम्बहाल फ्रेश पोट्याटो चिप्स कर्नरमा भने लेभल विवरण नभएका चिप्स बिक्रीका लागि राखिएको भेटिएको छ । उक्त चिप्स पिम्बहाल पोखरीबाट खरिद गरिएको खुलेको विभागले जनाएको छ ।

विभागले लेभल विवरण नभएका खाद्य पदार्थ खरिद–बिक्री नगर्न तथा खाद्य अनुमतिपत्र प्राप्त उद्योगबाट उत्पादित खाद्य पदार्थ मात्र खरिद–बिक्री गर्न निर्देशन दिएको छ ।

यस्तै, काठमाडौं महानगरपालिका–३२ स्थित फर्स्टटाइम फुड्स नेपाल प्रालिमा कामदारको व्यक्तिगत सरसफाइ असन्तोषजनक रहेको, कीट नियन्त्रणको व्यवस्था नभएको र भण्डारण कक्ष अव्यवस्थित रहेको पाइएको छ ।

उक्त व्यवसायको खाद्य अनुमतिपत्र नवीकरण प्रक्रियामा रहेको तथा म्याद गुज्रिएका खाद्य पदार्थ छुट्टै क्षेत्रमा राखिएको समेत अनुगमनका क्रममा भेटिएको थियो । 

विभागले अनुमतिपत्र तत्काल नवीकरण गर्न, प्रभावकारी कीट नियन्त्रणको व्यवस्था मिलाउन र भण्डारण कक्ष व्यवस्थित गर्न निर्देशन दिएको छ ।

दशैं–तिहारलगायतका चाडपर्वमा खाद्य वस्तुको कारोबार बढ्ने भएकाले विभागले बजारमा खाद्य पदार्थको गुणस्तर, स्वच्छता र व्यवसाय सञ्चालनसम्बन्धी मापदण्डको पालना भए–नभएको निगरानी बढाएको जनाएको छ । 

अनुगमनका क्रममा व्यवसायीलाई खाद्य पदार्थको उचित भण्डारण, लेभल विवरण, सरसफाइ तथा अनुमतिपत्रसम्बन्धी मापदण्ड अनिवार्य रूपमा पालना गर्न निर्देशनसमेत दिइएको छ ।

Share News