काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा-नुवाकोट सीमास्थित बेत्रावतीको फलाखुखोलामा रहेका दुवै पक्की पुल बगाएपछि अवरुद्ध बनेको पासाङल्हामु राजमार्ग दसैँअघि नै सञ्चालनमा आउने भएको छ ।
बाढीले पुल बगाएपछि काठमाडौं-नुवाकोट हुँदै रसुवासम्मको सडक सम्पर्क विच्छेद भई स्थानीयको आवतजावत, दैनिक उपभोग्य वस्तुको ढुवानी र अत्यावश्यक सेवा प्रभावित हुँदै आएको छ ।
अवरुद्ध सडक सम्पर्कलाई पुनः जोड्न नेपाली सेनाको नेतृत्वमा फलाखुखोलामा बेलीब्रिज निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार गल्छी–मैलुङ–स्याफ्रुबेँसी सडक सुधार आयोजनाले आगलीटार–बेत्रावती सडकखण्ड सञ्चालनमा ल्याएसँगै बेलीब्रिजका लागि आवश्यक निर्माण सामग्रीहरू निर्माणस्थलसम्म पुर्याउन सहज भएको छ ।
सरकारी नीति अनुसार बडादसैंअघि नै सवारीसाधन सञ्चालनमा ल्याउने लक्ष्यका साथ सेनाले काम गरिरहेको उनले बताए ।
बेलीब्रिज निर्माण भएसँगै रसुवा र नुवाकोटसहित काठमाडौंको सडक सम्पर्क पुनः कायम हुने भएकाले जिल्लावासी उत्साहित छन् ।
संविधानसभा सदस्य छोवाङ तेन्जिङ तामाङले दसैंअघि पुल तयार हुँदा चाडपर्वका बेला सर्वसाधारणलाई आवतजावतमा ठूलो राहत पुग्ने बताएका छन् ।
साथै, उनले बाढीपछि राहत, उद्धार तथा सडक सञ्जाल पुनः जोड्न नेपाली सेना र सरकारले खेलेको भूमिकाको प्रशंसा समेत गरेका छन् ।