काठमाडौं । मालढुंगा–बेनी–जोमसोम–कोरला सडकअन्तर्गत घासा–कोरला खण्डमा पहिरो हटाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको छ। तातोपानी क्षेत्रमा सडक कटान भएको ठाउँमा पछाडिको भाग काट्ने र टेवा पर्खाल लगाउने काम सकेर यातायात सञ्चालनमा ल्याइएको छ ।
पोखरेबजार पुलको पहुँच सडक निर्माणको काम भने भइरहेको छ। रातोपानीमा दुई ठाउँमा सडक भत्किएर पैदल हिँड्नसमेत नमिल्ने अवस्था रहेको छ। भीरकाटे नजिक पनि सडक पूर्ण रूपमा भत्किएको छ।
बेगखोलानजिक करिब १०० मिटर सडक पूर्ण रूपमा कटान भएको छ। यसैगरी, बैँसेरीमा पुरानै पहिरो गएको क्षेत्रमा थप पहिरो खसेको छ।
राहुघाट जलविद्युत् आयोजनाअगाडि भने सडक खुलाउने काममा समस्या भएको छ। आयोजनाले आफ्नो संरचनातर्फ ग्याबियन पर्खाल निर्माण गरिरहेको र टावर हटाउने कामका लागि कामदार खटाएकाले सडक विभागले तीन दिनदेखि त्यहाँ काम गर्न पाएको छैन।
राहुघाटमा सडक विभागका मेसिन रोकिएपछि त्यहाँबाट तातोपानीतर्फको सडक खुलाउने कामसमेत अघि बढ्न सकेको छैन। सडक योजनाका कर्मचारी तथा प्राविधिकहरू मेसिन अघि बढ्ने प्रतीक्षामा रहेको जनाइएको छ।
सडकका विभिन्न स्थानमा मेसिन भए पनि आवश्यक इन्धन पुग्न नसक्दा काम प्रभावित भएको बताइएको छ।
राहुघाट जलविद्युत् आयोजनाले ग्याबियन पर्खाल निर्माण सकेर टावर हटाएपछि सडक विभागका मेसिन अघि बढ्न पाए करिब सात दिनमा सडक खुलाउन सकिने प्रारम्भिक अनुमान गरिएको छ।
तर राहुघाटमा रोकिएको काम अघि बढ्न नसके बेनी–जोमसोम सडक खुलाउने समय अनिश्चित हुने सडक योजनाले जनाएको छ।