कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ गते मतदान

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । खुलामञ्चमै हुने बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदन पेस हुनेछन् ।

बन्दसत्रमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुँदैछन् । प्रतिनिधिहरूलाई भूगोलका आधारमा हिमाल, पहाड र तराई-मधेश गरी तीन समूहमा विभाजन गरेर प्रतिवेदनमाथिको छलफलमा सहभागी गराउने कार्यक्रम छ । महाधिवेशनको उद्घाटन समारोह हिजो खुलामञ्चमा भएको थियो ।

यसैबीच, आजदेखि नै केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन कार्यक्रम पनि सुरु हुँदैछ ।

आज साँझ ५ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ । साँझ ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ भने ५ बजेदेखि ६:३० बजेसम्म नामावलीउपर दाबीविरोध गर्न सकिनेछ । आजै बेलुका ८:३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ । सोही दिन अपरान्ह ४:३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ । ४:३० देखि ५:३० बजेसम्म उम्मेदवारीउपर दाबीविरोध गर्न सकिनेछ भने बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ ।

असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ । बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सो दिन दिनभर प्रचारप्रसार गर्न पाइनेछ ।

त्यसपछि असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । मतदान राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा हुनेछ । मतदान सकिएलगत्तै मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ । 

Share News