गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नूस् : दाहाल

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नेतृत्वमा निरन्तरताको क्रमभंग गरेर नयाँ इतिहासतर्फ अघि बढाएको बताएका छन् ।

नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले गगन थापालाई बधाई दिँदै उनको नेतृत्व गर्ने क्षमता आफूले यसअघि नै देखेको बताए । 

उनले आफूले प्रधानमन्त्री हुँदा थापा स्वास्थ्यमन्त्री रहेको स्मरण गर्दै थापाको राजनीतिक यात्राप्रति आफू खुसी रहेको बताए ।

‘गगनजीलाई बधाई छ । गगनजीमा नेतृत्व गर्ने क्षमता छ । अन्ततः यो देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भनेको थिएँ । आज त्यही देखिरहेको छु,’ दाहालले भने ।

विषम राजनीतिक परिस्थितिका बीच थापा कांग्रेसको नेतृत्वमा आउनु आफैमा ‘क्रमभंग’ भएको उनको भनाइ छ । ‘यो क्रमभंग हो । निरन्तरतामा क्रमभंग गरेर तपाईं पार्टीको नेतृत्वमा आउनुभएको छ,’ उनले भने ।

दाहालले कांग्रेसभित्र अझै छुटेका नेता तथा समूहलाई समेत जोडेर अघि बढ्न थापालाई आग्रह गरे । पार्टीलाई थप एकताबद्ध बनाएर अघि बढाउनुपर्ने भन्दै उनले कांग्रेसको नयाँ नेतृत्वले सबैलाई समेट्ने प्रयास गर्नुपर्ने बताए ।

थापा अब पार्टीको नेतृत्वमा मात्रै सीमित नरही देशकै नेतृत्व गर्ने बाटोमा अघि बढ्नुपर्ने प्रचण्डले बताए । त्यसका लागि आफ्नो साथ र सहयोग रहने उनको भनाइ छ ।

‘अहिले तपाईं देशको नेतृत्व गर्ने बाटोमा हिँड्नु होला, हामी साथ दिन तयार छौं,’ दाहालले भने ।

उनले मुलुकमा गणतन्त्र र लोकतन्त्रसमेत जोखिममा पर्न सक्ने अवस्था रहेको भन्दै राजनीतिक दलहरू सचेत हुनुपर्ने बताए । 

लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रमुख राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

शान्ति सम्झौताका केही काम अझै पूरा हुन बाँकी रहेको उल्लेख गर्दै प्रचण्डले ती काम समयमै टुंग्याउनुपर्ने बताए । शान्ति प्रक्रियाका बाँकी विषय समाधान हुन नसके मुलुक फेरि द्वन्द्वतर्फ जान सक्ने जोखिम रहेको उनको भनाइ थियो ।

‘शान्ति सम्झौताका केही चिज अझै टुंग्याउन बाँकी छ । यो टुंगिएन भने देश फेरि अर्को द्वन्द्वमा जानसक्छ । यो पनि गगन थापाले पूरा गर्नुपर्ने छ,’ उनले भने ।

मुलुकको समृद्धि र विकासका लागि सबै राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्ने बताउँदै दाहालले नयाँ नेतृत्वले देशलाई समृद्धिको दिशामा अघि बढाउने विश्वास व्यक्त गरे ।

‘सबै मिलेर समृद्ध नेपालको विकास गर्न सबै मिलेर जानेछौं भन्ने विश्वास छ,’ उनले भने ।

Share News