काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनप्रति छिमेकी मुलुक भारत र चीनसहित विभिन्न देशका राजनीतिक दल तथा नेताहरूले शुभेच्छा व्यक्त गरेका छन् ।
महाधिवेशन सफलताको कामना गर्दै भारतका सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीन र भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गेले कांग्रेसलाई शुभकामना सन्देश पठाएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीले पनि कांग्रेसको महाधिवेशन सफलताको शुभकामना दिएको कांग्रेसले जनाएको छ ।
यस्तै, सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष तथा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि महाधिवेशनका लागि शुभकामना व्यक्त गरेका छन् ।
एसिया र युरोपका अन्य राजनीतिक दल तथा अन्तर्राष्ट्रिय राजनीतिक संस्थाबाट समेत कांग्रेसलाई शुभकामना प्राप्त भएको छ ।
इन्टरनेसनल काउन्सिल अफ एसियन पोलिटिकल पार्टीज (आईक्याप)को स्ट्यान्डिङ कमिटी, बंगलादेशका प्रधानमन्त्री तारिक रहमान र बेलायतको लेबर पार्टीले पनि महाधिवेशन सफलताको कामना गरेका छन् ।
कांग्रेसले ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प स् समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित आइतबार काठमाडौंमा १५औं महाधिवेशन सुरु गरेको हो ।
पाँच दिनसम्म चल्ने महाधिवेशन असोज २२ गते सम्पन्न हुनेछ । महाधिवेशनबाट कांग्रेसको नयाँ नेतृत्व चयन हुनुका साथै पार्टीको आगामी राजनीतिक तथा संगठनात्मक दिशाबारे निर्णय हुने कार्यक्रम छ ।