काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान सरकार पाँच वर्षसम्म नढल्ने दाबी गरेका छन् । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा बोल्दै उनले सरकार ढल्ने चर्चा भइरहे पनि त्यसमा विश्वास नगर्न आग्रह गरे ।
‘सरकार दशैं-तिहारमा ढल्छ भनेको सुन्छु । सरकार बिल्कुल ढल्दैन,’ उनले भने ।
लामिछानेले रास्वपाले पाँच वर्षको अवधिमा काम गर्न नसके पार्टीको सदस्यता च्यात्नसमेत आग्रह गरे । ‘यो पाँच वर्ष रास्वपाले काम गर्न सकेन भने सुरुमा रास्वपाको सदस्यता च्यात्नूहोला,’ उनले भने ।
उनले सरकार व्यक्तिलाई हेरेर नभई जनताको मतबाट बनेको बताए । ‘हामीले व्यक्तिलाई चुनेका होइनौं । विदेशीले बनाएको सरकार भनेर नभन्नूहोला । यो नेपाली जनताले बनाएको सरकार हो,’ उनले भने ।
लामिछानेले आन्दोलनबाट सरकार ढाल्ने प्रयास नगर्न र सरकार परिवर्तन गर्नुपरे निर्वाचनको माध्यमबाट गर्नुपर्ने धारणा राखे । ‘आन्दोलनले सरकार ढाल्नेतिर नलागौं । चुनावबाट मात्रै सरकार ढालौं,’ उनले भने ।
उनले लोकतन्त्रलाई कुनै खतरा नरहेको दाबी गर्दै खतरा उत्पन्न भए त्यसको रक्षा गर्ने जनता रहेको बताए । ‘लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन्,’ उनले भने ।
लामिछानेले आफू कांग्रेसको सदस्यसमेत बन्न सक्ने अवस्था रहेको उल्लेख गर्दै कांग्रेसले दूरदराज र पिछडिएका क्षेत्रलाई अवसर दिएको भए आफू कांग्रेस हुन सक्ने बताए ।
‘म पनि कांग्रेस हुन्थेँ हुँला । यदि कांग्रेसले दूरदराज र पिछडिएका क्षेत्रलाई अवसर दिएको भए,’ उनले भने ।
दुई राजनीतिक दल एक ठाउँमा आउँदा संकट सिर्जना हुन सक्ने आफ्नो विगतको भनाइ स्मरण गर्दै उनले अहिलेको परिवर्तनको रक्षा गर्न रास्वपा अग्रपंक्तिमा रहने बताए ।
पुँजी बजार, अर्थतन्त्र र कूटनीतिका विषयमा देखिएका चिन्ताप्रति पनि उनले प्रतिक्रिया दिए । ‘पुँजी बजार बिग्रिने त होइन, अर्थतन्त्र समस्यामा पर्ने त होइन, कूटनीति बिग्रिने त होइन भन्ने चिन्ता धेरैमा छ । त्यो चिन्ता नगर्दा हुन्छ,’ उनले भने ।
उनले अहिलेको परिवर्तनको रक्षा गर्न रास्वपा अग्रपंक्तिमा रहनेसमेत बताए ।