काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन उद्घाटन नहुँदै नयाँ नेतृत्वका लागि पदाधिकारीको प्रतिस्पर्धाले राजनीतिक वृत्तमा तरंग ल्याएको छ ।
१५ औं महाधिवेशनको सभापति पदमा वर्तमान सभापति गगनकुमार थापालाई चुनौती दिँदै किशोरसिंह राठोरले उम्मेदवारी घोषणा गरेका छन् । त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका दुई पूर्वसभापति राठौर र थापा यसपटक पार्टी सभापतिको महाभीडन्तमा उत्रिने तयारीमा रहेका छन् ।
उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा पनि नेताहरूले धमाधम दाबी प्रस्तुत गरिरहेका छन् ।
विशेष महाधिवेशनबाट सभापति बनेका थापाले १५औं महाधिवेशनबाट पनि नेतृत्वमा निरन्तरता खोजिरहेका छन् ।
काठमाडौं–४ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि निर्वाचित भइसकेका थापाले आफूलाई नेतृत्वको स्वाभाविक दाबेदारका रूपमा अघि सारेका छन् ।
राठोरले भने थापाविरुद्ध सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । यससँगै सभापति पदमा कम्तीमा दुई जनाबीच प्रतिस्पर्धाको प्रारम्भिक तस्बिर बनेको छ । यद्यपि, उम्मेदवारी दर्ता नभएसम्म अन्तिम प्रतिस्पर्धीको संख्या यकिन हुने छैन ।
उपसभापतिमा पुरानै अनुहारदेखि नयाँ दाबेदारसम्म
दुई उपसभापति पदमा वर्तमान उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसालसँगै महालक्ष्मी उपाध्याय डिना, डा. मीनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की, दीपक गिरी र गोविन्द भट्टराईलगायत नेताहरूको नाम चर्चामा आएको छ ।
केही नेताहरूले सामाजिक सञ्जालमार्फत त केही नेताहरूले कार्यकर्तामार्फत उम्मेदवारी घोषणा गरेका छन् ।
संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भने उपसभापतिको संख्या तीन बनाउने गरी विधान संशोधन भए आफूले उक्त पदमा उम्मेदवारी दिने बताएका छन् । यसले उपसभापतिको निर्वाचनलाई केवल व्यक्तिको प्रतिस्पर्धामा सीमित नराखी पदाधिकारी संरचना परिवर्तनको बहससँग समेत जोडेको छ ।
महामन्त्रीमा सबैभन्दा धेरै आकांक्षी
१५औं महाधिवेशनमा सबैभन्दा बढी प्रतिस्पर्धा महामन्त्री पदमा देखिएको छ ।
वर्तमान महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे पुनः महामन्त्रीमै प्रतिस्पर्धा गर्ने तयारीमा छन् । उनीहरूसँगै उदयशमशेर राणा, डिला संग्रौला, जीवन परियार, देवराज चालिसे, महेन्द्र यादव, रामहरि खतिवडा, नैनसिंह महर, मधु आचार्य, आङ्गेलु शेर्पा, डा. सुनील शर्मा, रञ्जित कर्ण र अमरसिंह पुनलगायत नेताहरूको नाम महामन्त्रीका आकांक्षीका रूपमा सार्वजनिक भएको छ ।
पछिल्लो चरणमा शंकर तिवारी र डा.सन्तोष उपाध्यायले पनि महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।
यसले महामन्त्री पदमा पुराना पदाधिकारीको निरन्तरता र नयाँ पुस्ताको दाबीबीच प्रतिस्पर्धा बढेको देखाएको छ ।
महामन्त्रीमा आकांक्षीको संख्या बढ्नु कांग्रेसभित्र दोस्रो तहको नेतृत्वका लागि बढ्दो प्रतिस्पर्धाको संकेतसमेत रहेको नेताहरूले बताएका छन् ।
सहमहामन्त्रीमा पनि क्लस्टरगत प्रतिस्पर्धा
१५ औं महाधिवेशनमा सहमहामन्त्री पदमा वर्तमान पदाधिकारीसहित नयाँ नेताहरूले समेत दाबी प्रस्तुत गरेका छन् ।
फरमुल्लाह मन्सुर, बहादुरसिंह लामा, योगेन्द्र चौधरी, मुक्ताकुमारी यादव, कर्णबहादुर बुढा र प्रकाश रसाइली स्नेही लगायतका वर्तमान पदाधिकारी पुनः प्रतिस्पर्धाको तयारीमा रहेको उनीहरू निकट कार्यकर्ताले बताएका छन् ।
त्यस्तै, अभिषेकप्रताप शाह, प्रतिमा गौतम, मनोजमणि आचार्य, जीवनबहादुर शाही, लक्ष्मी परियार, अजयबाबु शिवाकोटी, जितनारायण श्रेष्ठ, नारायण भट्टराई, विनिता खड्कालगायत नेताहरू पनि सहमहामन्त्रीका आकांक्षी रहेको पाइएको छ ।
सीता गुरुङले समेत सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेकी छन् । यसपटक सहमहामन्त्रीको प्रतिस्पर्धा पनि विभिन्न क्लस्टर र क्षेत्रगत प्रतिनिधित्वको समीकरणसँग जोडिने देखिएको छ ।
आकांक्षी बढेपछि पदाधिकारी थप्ने तयारी
कांग्रेसभित्र पदाधिकारीका आकांक्षी बढ्दै गएपछि पदको संख्या नै बढाउने विषय महाधिवेशनमा प्रवेश गर्ने देखिएको सहमहामन्त्री स्नेहीले जानकारी दिए ।
हाल कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ निर्वाचित सहमहामन्त्रीको व्यवस्था छ । तर १५औं महाधिवेशनमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको संख्या बढाउने प्रस्तावमाथि छलफल भइरहेको नेताहरूले बताएका छन् ।
उपसभापति तीन, महामन्त्री तीन तथा सहमहामन्त्रीको संख्या पनि बढाउने प्रस्तावमाथि छलफल चलिरहेको नेताहरूको दाबी छ । अन्तिम संख्या भने विधान संशोधनबाट तय हुने एक नेताले जानकारी दिए ।
पदाधिकारीको संख्या बढाउने बहसले कांग्रेसभित्र नेतृत्वका लागि दाबी गर्ने नेताहरूको संख्या र समूहगत व्यवस्थापनको चुनौती दुवैलाई उजागर गरेको छ ।
घोषणाभन्दा महत्त्वपूर्ण प्यानल निर्माण
कांग्रेस महाधिवेशनमा अहिले सार्वजनिक भएका उम्मेदवारीलाई अन्तिम सूची मान्न मिल्दैन । उम्मेदवारी दर्ताको समय नजिकिँदै जाँदा नेताहरूबीच प्यानल निर्माण, पदको बाँडफाँट र समूहगत सहमतिको प्रयास तीव्र हुने देखिन्छ ।
विशेषगरी सभापतिका उम्मेदवारले उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा कसलाई आफ्नो प्यानलमा समेट्छन् भन्ने विषयले निर्वाचनको वास्तविक समीकरण निर्धारण गर्ने कांग्रेस निकट अधिवक्ता परसुराम घिमिरेले बताए ।
उनका अनुसार यसपटक कांग्रेसमा देखिएको अर्को विशेषता भनेको एउटै समूहभित्र पनि एउटै पदका लागि धेरै आकांक्षी हुनु हो । महामन्त्री र सहमहामन्त्रीमा देखिएको भीडले त्यसलाई स्पष्ट पार्छ ।
त्यसैले अहिलेको अवस्थामा कांग्रेसको महाधिवेशनमा मुख्य प्रश्न को उम्मेदवार बन्छ भन्ने मात्र होइन, को कुन समूहबाट र कुन प्यानलमा उम्मेदवार बन्छन् भन्ने बनेको घिमिरेले बताए ।
कांग्रेसको निर्वाचन प्रक्रियाअनुसार उम्मेदवारी दर्ता भएपछि मात्रै पदाधिकारीको वास्तविक प्रतिस्पर्धी सूची सार्वजनिक निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
त्यसअघि विधान संशोधनबाट पदाधिकारीको संख्या परिवर्तन भए त्यसले अहिले बनेका समीकरणमा समेत फेरबदल ल्याउन सक्ने आँकलन गर्छन् अधिवक्ता घिमिरे ।