कांग्रेस महाधिवेशन : यी ८ स्थानमा सवारीसाधनको पार्किङ व्यवस्था

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन आइतबार (आज)बाट काठमाडौंको खुला मन्चमा सुरु हुँदैछ । 

आइतबार २ बजे कांग्रेसको १५औं महाधिवेशनको औपचारिक उद्घाटन हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । 

कांग्रेसले महाधिवेशन स्थलमा आउने सहभागी तथा प्रतिनिधिहरूका लागि सवारीसाधन पार्किङका लागि ८ स्थानमा व्यवस्थापन मिलाएको छ ।

कांग्रेस महाधिवेशन आयोजक समिति अन्तर्गतको यातायात व्यवस्थापन समितिका संयोजकसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य विजय .बहादुर स्वाँरका अनुसार महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि धरहराको अन्डरग्राउन्ड पार्किङ, बग्गीखानासँगैको साल्ट ट्रेडिङको पार्किङ स्थल, पुरानो बसपार्क क्षेत्र, भृकुटीमण्डपको बाहिरी एक लेन सडक, राष्ट्रिय सभागृहको पार्किङ, प्रज्ञा प्रतिष्ठान स्थल र दरवारमार्गस्थित अन्नपूर्ण होटलको पार्किङ स्थललाई तोकिएको छ ।

यसैगरी, काठमाडौं उपत्यका बाहिरबाट महाधिवेशन प्रतिनिधि लिएर आउने ठूला बसका लागि माइतीघर मण्डला र भद्रकालीबीचको सडकको एक भागलाई पार्किङ गर्न मिल्ने गरी ट्राफिक प्रहरी र जिल्ला प्रहरी परिसर, काठमाडौंसँग समन्वय गरिएको स्वाँरले जानकारी दिए ।

धरहरा अन्डर ग्राउन्ड पार्किङ र अन्नपूर्ण होटलको पार्किङ स्थलमा शुल्क लाग्नेछ भने अन्यत्र निःशुल्क हुनेछ ।

कांग्रेसले नेता कार्यकर्तालाई निर्धारित स्थानमा सवारीसाधन पार्किङ गरिदिन आग्रह गरेको छ ।

आफू सवारीसाधन लिएर आएकै क्षेत्रको तोकिएको पार्किङमा सवारीसाधन व्यवस्थापन गरेर आउन कांग्रेसले प्रतिनिधि तथा नेता तथगा कार्यकर्तालाई आग्रहसमेत गरेको छ । 

Share News