कांग्रेसको १५औँ महाधिवेशन आज खुलामञ्चमा उद्घाटन हुँदै

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले निर्वासनबाट स्वदेश फर्किएपछि पहिलो सार्वजनिक सम्बोधन गरेको टुँडिखेल खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

महाधिवेशनको उद्घाटन आज दिउँसो २ बजे खुलामञ्चमा हुनेछ । उद्घाटन सत्रलाई सभापति गगनकुमार थापाले सम्बोधन गर्नेछन् । कार्यक्रममा कांग्रेसका शीर्ष नेतासहित प्रमुख राजनीतिक दलका नेताहरूले समेत सम्बोधन गर्ने जनाइएको छ ।

कांग्रेसको १५औँ महाधिवेशनको तयारीबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले यसलाई ऐतिहासिक महाधिवेशनका रूपमा व्याख्या गरे । उनका अनुसार महाधिवेशनको प्रक्रियाबाट नयाँ पुस्ताका ४४ हजार युवा जिम्मेवारीमा आएका छन् भने उनीहरूसहित निर्वाचित सात हजारभन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदैछन् ।

२०८२ पुस २८ देखि माघ ३ गतेसम्म सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनपछि १५औँ महाधिवेशन हुन लागेको हो ।

यस महाधिवेशनबाट ३५ वर्षमुनिका युवा, लोकतन्त्र सेनानी, श्रमिक तथा पेसागत समूह र विदेशमा रहेका नेपालीले पहिलोपटक केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने अवसर पाउने कांग्रेसले जनाएको छ ।

‘ऊर्जाशील कांग्रेस, नयाँ सङ्कल्प’ महाधिवेशनको मूल मन्त्र तय गरिएको छ । छलफल सत्रमा नयाँ सङ्कल्पका विषयमा छलफल गरी त्यसको कार्यान्वयनको खाका तयार गरिने चालिसेले बताए ।

उनका अनुसार महाधिवेशनले ती सङ्कल्प कार्यान्वयन गर्न सक्ने नेतृत्व चयन गर्नेछ । कांग्रेसमा विधि र पद्धति निर्माणमा महाधिवेशनको सम्पूर्ण प्रयास केन्द्रित हुने उनले बताए ।

कांग्रेसले विगतमा नेपाली राजनीतिमा महत्वपूर्ण इतिहास निर्माण गरेको उल्लेख गर्दै चालिसेले अब नयाँ इतिहास निर्माण गर्ने बताए । उनका अनुसार कांग्रेसले बिपी कोइरालाको विचारलाई भविष्यसँग जोड्दै देशको समृद्धिको वैचारिक आधारका रूपमा अघि बढाउनेछ ।

महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट प्रतिनिधि काठमाडौं आउने क्रम जारी छ । पार्टी कार्यालयका अनुसार महाधिवेशनमा करिब सात हजार पाँच सय प्रतिनिधि सहभागी हुनेछन् ।

शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन प्रतिनिधिको दर्ता सुरु भएको छ । प्रतिनिधिले सहभागिता दर्ताबापत तीन हजार पाँच सय रुपैयाँ बुझाउनुपर्ने निर्वाचन समितिले जनाएको छ ।

आवास व्यवस्थापन समितिले हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक–एक जना संयोजक तोकेर सम्बन्धित क्षेत्रका महाधिवेशन प्रतिनिधिको बसोबास व्यवस्थापनमा समन्वय गर्ने व्यवस्था गरेको छ । सहभागीले आवाससम्बन्धी जानकारी विद्युतीय सन्देश सेवा, कृत्रिम बौद्धिकता नम्बर र छोटो सन्देशमार्फत प्राप्त गर्ने व्यवस्था मिलाइएको समितिले जनाएको छ ।

उद्घाटन कार्यक्रमपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन पेस गर्ने कार्यतालिका छ ।

प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाएर तीनवटा हलमा छलफल गरिनेछ । प्रत्येक हलमा राखिएका विद्युतीय पाटीमार्फत सहभागीले प्रस्तुत प्रतिवेदन हेर्न र सुन्न सक्ने प्रवक्ता चालिसेले बताए ।

निर्वाचन समितिले असोज १९ गते दिउँसो २ बजेदेखि ६ बजेसम्म उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको छ । उम्मेदवारी मनोनयन राष्ट्रिय सभागृहमा हुनेछ । निर्वाचनको कार्यक्रम आवश्यकताअनुसार परिमार्जन हुन सक्ने निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशनमा सहभागी हुने निजी कार तथा मोटरसाइकलका लागि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र पुरानो बसपार्क क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ । ठूला बसका लागि माइतीघरदेखि भद्रकालीसम्मको एक लेनमा पार्किङ व्यवस्था मिलाइएको छ ।

महाधिवेशनका सूचना अद्यावधिक गर्न खुलामञ्चमा सूचना केन्द्र स्थापना गरिएको छ । त्यहाँबाट सञ्चारमाध्यमलाई नियमित जानकारी दिइने कांग्रेसले जनाएको छ ।

Share News