कांग्रेसमा तीनै तहका पदाधिकारी बढाउने समझदारी, संख्या भने अझै टुंगिएन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तीन उच्च तहका पदाधिकारीको संख्या बढाउने विषयमा समझदारी भएको जनाएको छ।  

उपसभापति, महामन्त्री र सहमहामन्त्रीको संख्या बढाउनेबारे नेताहरूबीच सहमति बने पनि कति संख्या थप्ने भन्ने विषय भने अझै टुंगिन बाँकी रहेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

पार्टीको १५औं महाधिवेशनको बन्दसत्रमा यस विषयमा व्यापक छलफल गरी अन्तिम निर्णयमा पुग्ने तयारी कांग्रेसको छ । 

महाधिवेशन आइतबार (आज)देखि काठमाडौंमा सुरु हुँदैछ र बन्दसत्रमा विधान संशोधनका विषयमा छलफल हुने जनाइएको छ ।

प्रवक्ता चालिसेका अनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा पदाधिकारी थप गर्ने विषयमा समझदारी भए पनि अहिले नै यति संख्या थपिने भनेर यकिन भइसकेको छैन ।

‘यो विषय अहिले छलफलकै चरणमा छ । भोलि बन्दसत्रमा साथीहरूसँग वृहत्तर छलफल गरेर पर्सिसम्म यसलाई टुंगोमा लगिनेछ। अहिले नै यति जना थप्ने यकिन भइसकेको छैन,’ उनले विकासन्युजसँग भने ।

कांग्रेसमा हाल दुई जना उपसभापति रहने व्यवस्था छ । यसलाई बढाएर बढीमा चार जनासम्म पुर्याउने विषयमा छलफल भइरहेको चालिसेले बताए ।

‘पार्टी विभिन्न क्षेत्रमा विस्तारित छ, त्यसैले पनि पदाधिकारी थप गर्ने विषय स्वाभाविक हो,’ उनले भने, ‘यसरी थप गरिने पदाधिकारीलाई कत्तिको कार्यात्मक बनाउन सकिन्छ भन्ने विषय महत्त्वपूर्ण हुन्छ ।’

महामन्त्रीको संख्या पनि बढाउने तयारी भइरहेको छ । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार हाल दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था रहेकामा त्यसलाई बढाएर तीन जना बनाउने विषयमा समझदारी भएको छ ।

त्यस्तै, हाल आठ जना निर्वाचित र तीन जना मनोनीत गरी ११ जना सहमहामन्त्री रहने व्यवस्था छ । यसलाई बढाएर १३ जना बनाउने विषयमा समझदारी भएको ती पदाधिकारीले बताए ।

‘महामन्त्रीमा पनि एक पदाधिकारी थप गर्नेबारे छलफल भएको थियो। सहमहामन्त्रीमा ११ जना रहेकोमा १३ बनाउने समझदारी भएको छ । अब त्यसलाई छलफलपछि टुंगोमा पुर्याइनेछ,’ उनले भने ।

कांग्रेसको १४औं महाधिवेशनमा विभिन्न क्लस्टरका आधारमा आठ जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको थियो । त्यसपछि विशेष महाधिवेशनबाट विधान संशोधन गर्दै सभापतिले मनोनयन गर्ने तीन सहमहामन्त्री थपिएपछि सहमहामन्त्रीको संख्या ११ पुगेको हो ।

पदाधिकारी संख्या बढाउने विषयमा कांग्रेसभित्र पछिल्लो समय विभिन्न प्रस्तावमाथि छलफल हुँदै आएको छ । 

सार्वजनिक विवरणहरूमा उपसभापति तीन, महामन्त्री तीन तथा सहमहामन्त्रीको संख्या १५ सम्म पुर्याउने विकल्पसमेत चर्चामा रहेको देखिन्छ । तर अन्तिम संख्या महाधिवेशनको बन्दसत्रबाटै तय हुने बताइएको छ ।

कांग्रेसको १५औं महाधिवेशन आइतबार दिउँसो २ बजे उद्घाटन हुनेछ । त्यसपछि बन्दसत्रमा विधान संशोधनलगायत विषयमा छलफल हुने र पदाधिकारीको संख्या बढाउने प्रस्तावलाई पनि टुंगो लगाउने तयारी छ । पार्टीले महाधिवेशन असोज १८ देखि २२ गतेसम्म सञ्चालन गर्ने जनाएको छ ।

Share News