काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ स्थित फुर्केखोलाको पुल बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडक आज पाँच घण्टा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार परेवाटार-पिपलटार-आदमटार-बेलिनटार-मास्टार सडकखण्डमा मर्मतसम्भार गर्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिने भएको हो ।
जिल्ला प्रशासन कार्यालयले वैकल्पिक सडकका विभिन्न स्थानमा मर्मतसम्भार गर्नुपर्ने भएकाले उक्त अवधिमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीले पृथ्वी राजमार्गअन्तर्गत फुर्केखोलाको पक्की पुल बगाएको थियो । पुल बगेपछि परेवाटार-पिपलटार-आदमटार-बेलिनटार-मास्टार सडकखण्डलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ ।
जिल्ला प्रशासन कार्यालयले सडक बन्द रहने अवधिमा यात्रु तथा सवारीसाधनलाई धादिङबेँसी-सुनौलाबजार-भोर्ले-कोसीखोला-फोस्रेटार-कल्लेरीटार सडकखण्ड वा अन्य वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।