सूर्यज्योति लाइफले सञ्चालनमा ल्यायो ‘अल्फा प्लस सूर्यज्योति फण्ड’

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अल्फा प्लस भेन्चर्स लिमिटेडसँगको सहकार्यमा ‘अल्फा प्लस सूर्यज्योति फण्ड’ सञ्चालनमा ल्याएको छ । 

कम्पनीले यस फण्डका लागि नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत कोष दर्ता तथा निष्काशनको प्रमाणपत्र समेत प्राप्त गरेको जनाएको छ । 

कोषको समग्र व्यवस्थापन तथा लगानी कार्यान्वयनको जिम्मेवारी कोष व्यवस्थापकका रूपमा अल्फा प्लस भेन्चर्स लिमिटेडले सम्हाल्नेछ । 

यो कोष अल्फा प्लस भेन्चर्स लिमिटेडले कोष व्यवस्थापकको रूपमा सञ्चालनमा ल्याएको तेस्रो कोष रहेको छ । 

सोभन्दा अगाडि ५ अर्ब रुपैयाँ बराबरका दुईवटा कोष सञ्चालनमा ल्याई हाल व्यवस्थापन गर्दै आएको छ । 

नेपाली बीमा जगतमा आफ्नै नाममा विशेष फण्ड सञ्चालन गर्ने यो पहल पहिलोपटक भएको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार ५० करोड रुपैयाँ आकारको उक्त कोषमार्फत दीर्घकालीन तथा योजनाबद्ध लगानीका लागि नयाँ अवसरहरू सिर्जना गरिनेछ ।

अल्फा प्लस सूर्यज्योति फण्डले उत्पादन तथा प्रशोधन, ऊर्जा तथा जलविद्युत्, वित्तीय तथा लगानी सेवा, ई-कमर्स तथा सूचना प्रविधि, पर्यटन तथा मनोरञ्जन, स्वास्थ्य तथा वेलनेस, रियल इस्टेट, पूर्वाधार विकास, कृषि, होटल तथा रेष्टुरेन्ट र खनिज उत्खनन तथा प्रशोधन लगायतका क्षेत्रमा लगानीका अवसरहरू पहिचान गर्नेछ । 

लगानी समिति तथा स्वीकृत लगानी नीतिअनुसार प्रचलित कानूनले निषेध नगरेका अन्य निजी क्षेत्रका सम्भावनायुक्त क्षेत्रमा समेत लगानी गर्न सकिने व्यवस्था रहेको छ ।

५० करोड रुपैयाँको आकारमा सञ्चालनमा ल्याइएको यस फण्डले सूर्यज्योति लाइफको लगानी पोर्टफोलियोलाई थप विस्तार गर्नुका साथै कम्पनीको दीर्घकालीन वित्तीय रणनीतिलाई समेत थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

सूर्यज्योति लाइफले आफ्ना बीमित, अभिकर्ता तथा अन्य सरोकारवालाको हितलाई केन्द्रमा राख्दै दीर्घकालीन वित्तीय स्थायित्व, पारदर्शिता र जिम्मेवार लगानी अभ्यासलाई प्राथमिकता दिँदै आएको जनाएको छ । ‘अल्फा प्लस सूर्यज्योति फण्ड’ पनि सोही दिशामा अघि बढाइएको कम्पनीको भनाइ छ ।
 

Share News