प्रतिनिधि सभाबाट तीन वित्तीय विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

काठमाडौं । प्रतिनिधि सभाको बिहीवार बसेको बैठकले आर्थिक क्षेत्रसँग सम्बन्धित तीन महत्त्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सदनमा प्रस्तुत गरेका ‘कर्मचारी सञ्चय कोष दशौं संशोधन विधेयक २०८३’, ‘नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक २०८३’ र ‘भुक्तानी तथा फर्स्यौट पहिलो संशोधन विधेयक २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गरेका थिए । 

सभामुखले उक्त प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्दा संसदमा उपस्थित सदस्यहरूबाट कुनै पनि विरोध नआएपछि ती प्रश्तावहरू सर्वसम्मतिले पारित भएका हुन् । 

यी विधेयकहरू समितिमा पठाइएसँगै अब तिनका दफावार पक्षमा विस्तृत अध्ययन र छलफल हुनेछ । 

Share News