काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि पार्टीको हित विपरीतका क्रियाकलापमा संलग्न हुनेहरूमाथि केन्द्रीय अनुशासन समितिले कारबाही गर्ने भएको छ ।
समितिका कार्यवाहक संयोजक रमेश धमलाले अनुशासन विपरीतका अवाञ्छित गतिविधिमा संलग्न नहुन आग्रह गरे ।
पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहेका पदाधिकारी, निर्वाचनबाट निर्वाचित प्रतिनिधि तथा साधारण क्रियाशील सदस्यसम्मका कसैलाई पनि पार्टीको हित प्रतिकूल हुने कुनै पनि गतिविधिमा संलग्न नहुन समितिले कडा निर्देशन दिएको छ ।
१५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि पार्टीको हित विपरीतका क्रियाकलापमा संलग्न नहुन पार्टीका सम्पूर्ण तहका नेता तथा कार्यकर्ताहरूलाई सचेत गराइएको छ ।
समितिले निर्वाचन प्रक्रियामा संलग्न भइसकेपछि पनि कतिपय व्यक्तिहरू कांग्रेसकै नाममा पार्टी विरोधी गतिविधिमा लागेको सूचना प्राप्त भएको जनाएको छ ।
त्यस्ता गतिविधिहरूलाई अत्यन्त गम्भीरताका साथ निगरानी गरिरहेको उनले स्पष्ट पारे ।
कार्यवाहक संयोजक धमलाले पार्टीको मर्यादा र नीति विपरीत गतिविधि नगर्न आह्वान गर्दै अन्यथा समितिले तत्काल आवश्यक कडा कारबाहीको प्रक्रियालाई अगाडि बढाउन बाध्य हुने स्पष्ट पारेका छन् ।