इतर पक्षको वडा अधिवेशन आज, कांग्रेसको महाधिवेशन समानान्तर प्रक्रियामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया पार्टीभित्रै दुई समानान्तर धारबाट अघि बढेको छ । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले शशांक कोइरालाको संयोजकत्वमा छुट्टै महाधिवेशन तयारी समिति गठन गर्दै बिहीबारदेखि वडा अधिवेशन सुरु गर्न लागेको हो ।

सभापति गगन थापा पक्षले यसअघि नै असोज ३ र ४ गते वडा अधिवेशन सम्पन्न गरिसकेको छ । देउवासहितको इतर पक्ष उक्त प्रक्रियामा सहभागी भएको थिएन । त्यसपछि उक्त पक्षले आफ्नै तयारी समिति बनाएर छुट्टै निर्वाचन कार्यतालिकाअनुसार वडा तहबाट महाधिवेशन प्रक्रिया अघि बढाउन लागेको हो ।

पूर्वमहामन्त्रीसमेत रहेका नेता शशांक कोइरालाको संयोजकत्वमा गठन गरिएको तयारी समितिले इतर पक्षको तर्फबाट वडा अधिवेशन सञ्चालन तथा प्रतिनिधि चयनको प्रक्रिया अघि बढाएको छ । नेता डा. प्रकाशशरण महतका अनुसार वडा अधिवेशनबाट निर्वाचित हुने कार्यसमिति र क्षेत्रीय प्रतिनिधिका आधारमा त्यसपछिका पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा जिल्ला तहका अधिवेशन अघि बढ्ने छन् ।

यससँगै कांग्रेसको १५औँ महाधिवेशनका लागि एउटै पार्टीभित्र दुई फरक प्रक्रियाबाट प्रतिनिधि चयन हुने अवस्था बनेको छ । सभापति थापा पक्षले असोज ३ र ४ गते वडा अधिवेशन सम्पन्न गरिसकेको अवस्थामा इतर पक्षले त्यसलाई अस्वीकार गर्दै आफ्नै संगठनात्मक प्रक्रिया अघि बढाएको हो ।

उक्त प्रक्रियामा नेता डा. शेखर कोइराला पक्ष पनि सहभागी हुने भएको छ । नेता सञ्जय गौतमले आफ्नो पक्षमा रहेका नेता–कार्यकर्ता पनि पछिल्लो महाधिवेशन प्रक्रियामा सहभागी हुने जानकारी दिए ।

इतर पक्षले सुरु गर्न लागेको वडा अधिवेशनबाट चयन हुने प्रतिनिधिले आगामी महाधिवेशनमा आफ्नो पक्षको सहभागिता र संगठनात्मक दाबीलाई आधार दिने नेताहरूले बताएका छन् ।

Share News