विपद्का बेला सरकार सिंहदरबारमा मात्र सीमित रह्यो : वासना थापा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले मुलुकभरको बाढी–पहिरोको अवस्थाप्रति सरकारको निष्क्रियताको आलोचना गरेकी छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले गण्डकी र कर्णालीलगायतका क्षेत्रमा नागरिकले भोग्नुपरेको पीडा र राज्यको अनुपस्थितिमाथि प्रश्न उठाएकी हुन् ।

सांसद थापाले हालैको भारी वर्षाका कारण गण्डकी प्रदेशमा मात्र २७ जनाको ज्यान गएको र ११ जना अझै बेपत्ता रहेको दुःखद् तथ्याङ्क प्रस्तुत गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरिन् । उनले बेपत्ताहरूको खोजी, उद्धार र राहतका लागि सरकारले चालेका कदमबारे स्पष्ट जवाफ माग गरिन् ।

उनले विशेषगरी खोज तथा उद्धारमा कति सुरक्षाकर्मी र कुन प्रविधि प्रयोग भइरहेको छ भन्नेबारे जिल्लागत र व्यक्तिगत प्रगति विवरण सार्वजनिक गर्न सरकारलाई दबाब दिइन् ।

आफ्नो निर्वाचन क्षेत्र दैलेखसहित कर्णालीका विभिन्न स्थानमा बाढी–पहिरोले सडक, पुल र विद्युत्लगायतका भौतिक संरचना ध्वस्त हुँदा नागरिकले सास्ती खेप्नुपरेको उनले स्मरण गराइन् ।

चाडबाडको मुखमा राजमार्गहरू अवरुद्ध हुँदा हजारौँ यात्रु अलपत्र परेको भन्दै उनले अवरुद्ध सडकहरूको एकीकृत सार्वजनिक सूचना प्रणाली नहुनु सरकारको कमजोरी भएको औँल्याइन् ।

सांसद थापाले बाढी–पहिरोबाट प्रभावित क्षेत्रमा राहत, उपचार र पुनःस्थापनाका लागि कति बजेट तथा स्रोत परिचालन गरिएको छ भन्ने विषयमा तत्काल स्पष्ट पार्न सरकारसँग माग गरिन् ।

विपद्को पूर्वसूचना हुँदाहुँदै पनि जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न किन चुक्यौँ भन्दै उनले सरकारी कार्यशैलीमाथि प्रश्न उठाइन् । उनले आश्वासनको भरमा नभई परिणाम देखिने गरी काम गर्न र निरन्तर सूचना प्रवाह गर्न सरकारलाई सचेत गराइन् ।

Share News