काठमाडौं । जिल्ला प्रशासन कार्यलय, चितवनले विकट चेपाङ वस्तीमा घुम्ति शिविर सञ्चालन गरेको छ ।
सदरमुकामबाट पुग्न दुई–तीन दिन लाग्ने चितवनको राप्ती नगरपालिकाको विकट पहाडी बस्तीमा प्रशासनले घुम्ती शिविरमार्फत नागरिकता वितरण गरेको हो ।
शिविरमार्फत ९० जना चेपाङ समुदायका नागरिकले नेपाली नागरिकता प्राप्त गरेका छन् । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा गएको टोलीले राप्ती–१३ मा ८४ जना र राप्ती–१२ मा ६ जना गरी ९० जनालाई नागरिकता प्रदान गरेको हो ।
नागरिकता प्राप्त गर्नेमा लामो समयदेखि कागजातको अभावमा नागरिकताबाट वञ्चित रहेका वृद्धवृद्धा तथा दृष्टिविहीन चेपाङ नागरिकसमेत छन् । वर्षायाममा पहिरोको जोखिमका बीच प्रशासनको टोली विकट बस्तीमै पुगेको थियो ।
नागरिकता बनाउनकै लागि दुई दिन हिँड्नुपर्ने भौगोलिक बाध्यता रहेका नागरिकलाई स्थानीय तहमै शिविर मार्फत सेवा उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालय चितवनकी प्रशासकीय अधिकृत अन्तिम सिन्जाली मगरले बताइन् ।
उनका अनुसार प्रशासनले राप्तीका वडा नम्बर १०, ११, १२ र १३ मा घुम्ती शिविर सञ्चालन गर्ने तयारी गरेको थियो । तर वडा नम्बर १० र ११ बाट आवश्यक कागजात पर्याप्त रूपमा नआएपछि १२ र १३ मा मात्रै शिविर सञ्चालन गरिएको उनले बताइन् ।
१२० जनालाई नागरिकता वितरण गर्ने लक्ष्य भएपनि ९० जनालाई मात्रै उपलब्ध गराइएको उनको भनाइ छ ।
उनले स्थानीय नागरिकको समस्या र पीडा प्रत्यक्ष रूपमा देख्न पाएको तथा आफ्नै हातले हस्ताक्षर गरेको नागरिकता वितरण गर्न पाउनु आफ्ना लागि महत्त्वपूर्ण अनुभव भएको बताइन् ।
शिविरमा नागरिकता वितरणसँगै जिल्ला निर्वाचन कार्यालयको टोलीले मतदाता परिचयपत्र समेत बनाएको थियो ।
जिल्ला निर्वाचन कार्यालय, चितवनका प्रमुख भीमसेन कार्कीको नेतृत्वमा बस्तीमै पुगेर नागरिकको मतदाता परिचयपत्र बनाइएको हो । शिविरमा नागरिकता बनाउन आएका सेवाग्राहीलाई खाजाको प्याकेटसमेत उपलब्ध गराइएको थियो ।
सेवाग्राहीहरु वडा कार्यालयमा नागरिकता लिन नै तीन चार घण्टा पैदल हिँडेर आएका थिए । वडामा नै नागरिकता पाएपछि उनीहरू खुशी भएका छन् ।
राप्ती–१३ का वडाध्यक्ष अशोककुमार प्रजाले नागरिकता नभएका चेपाङ समुदायका नागरिकलाई नागरिकता वितरणको लागी आवश्यक कागजात संकलन गरि प्रशासनसँग समन्वय गरेका थिए । –न्युज एजेन्सी नेपाल