काठमाडौं । नेपाली कांग्रेस गुल्मीमा संस्थापन र इतर पक्षबीचको विवाद संगठनात्मक विभाजनतर्फ उन्मुख भएको छ ।
विशेष महाधिवेशन पक्षधरको क्षेत्रीय अधिवेशन चलिरहेका बेला इतर पक्षले छुट्टै जिल्ला समिति घोषणा गर्ने तयारी गरेको हो ।
इतर पक्षले कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेद थापा मगरको संयोजकत्वमा २३ सदस्यीय जिल्ला समिति घोषणा गर्न लागेको हो ।
पहिलो चरणमा संयोजक, सचिव, दुई संघीय निर्वाचन क्षेत्रका संयोजक, चार प्रदेशसभा क्षेत्रका संयोजकसहित केही जिल्ला सदस्य घोषणा गर्ने तयारी रहेको थापाले जानकारी दिए ।
प्रस्तावित समितिको सचिवमा रविन्द्र घिमिरे रहने थापाले बताए । संयोजक थापाका अनुसार संघीय निर्वाचन क्षेत्र नम्बर १ को संयोजकमा मार्कण्डेय भण्डारी र क्षेत्र नम्बर २ को संयोजकमा विष्णु अर्याल रहने छन् ।
जिल्ला सदस्यमा कांग्रेसका पुराना नेता तथा पूर्व सांसद झकबहादुर पुन र लुम्विनी प्रदेश योजना आयोगका पूर्व सदस्य डा. दामोदर भुसाललगायतलाई समेटिएको छ । सदस्यमा मौसम भण्डारी रहेका छन् ।
थापाका अनुसार तत्काल घोषणा गरिने समिति प्रारम्भिक संरचना हो । विशेष महाधिवेशन पक्षमा रहेका केही नेता–कार्यकर्ता समेत आफूहरूसँग जोडिने तयारीमा रहेकाले उनीहरूलाई समेटेर समितिलाई पूर्णता दिइनेछ ।
थापाका अनुसार १७ गते जिल्ला समिति घोषणाको तयारी रहेको छ ।
पार्टीको जिल्ला अधिवेशन तथा संगठनात्मक संरचनालाई लिएर गुल्मी कांग्रेसमा लामो समयदेखि संस्थापन र इतर पक्षबीच मतभेद रहँदै आएको छ ।
पछिल्लो समय विशेष महाधिवेशनको प्रक्रियालाई लिएर विवाद चर्किएपछि दुवै पक्षले छुट्टाछुट्टै संगठनात्मक गतिविधि अघि बढाएका छन् ।
क्षेत्रीय अधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला इतर पक्षले जिल्ला तहकै छुट्टै संरचना घोषणा गर्न लागेपछि गुल्मी कांग्रेसको विवाद अब नेतृत्वको असहमतिको सीमाबाट संगठन सञ्चालनकै प्रश्नमा पुगेको देखिएको छ ।
इतर पक्षले घोषणा गर्न लागेको समितिले जिल्लाका दुई संघीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा क्षेत्रमा समेत समानान्तर संगठनात्मक संरचना निर्माण गरिरहेको छ ।
गुल्मी कांग्रेसमा सभापतिको दौड सुरु, पन्थीलाई चुनौती दिँदै तीन आकांक्षी