काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्नेछन् ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’, ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फछ्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
राष्ट्रियसभातर्फको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछिन् । यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस हुने सम्भावित कार्यसूची छ ।
यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरीले समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नेछिन् ।
आज दुई संसदीय समितिको बैठक पनि बस्दैछ । कृषि तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा कृषि मन्त्री र सचिवलाई बोलाइएको छ ।
यस्तै, बिहान सवा ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ ।