सार्वजनिक सवारीमा अब अग्निनियन्त्रक अनिवार्य, रुट परमिटमा पनि कडाइ

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीसाधनमा रुट परमिटसँगै अग्निनियन्त्रक यन्त्र अनिवार्य गर्ने तयारी गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक यातायातलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन सवारीसाधनको नियमित अनुगमनलाई प्रभावकारी बनाउँदै यात्रुको सुरक्षासँग प्रत्यक्ष जोडिएका विषयमा कडाइ गर्न लागेको हो ।

यसका लागि सम्बन्धित निकायसँगको समन्वयमा सार्वजनिक सवारीसाधनको अवस्था, आवश्यक कागजात, रुट परमिट तथा सुरक्षा उपकरणको नियमित परीक्षण गरिने कार्यालयले जनाएको छ ।

सार्वजनिक यातायातका साधन सञ्चालनका लागि सम्बन्धित रुटको अनुमति लिनुपर्ने व्यवस्था भए पनि कतिपय सवारीसाधन आवश्यक कागजातबिना तथा तोकिएको रुटभन्दा बाहिर सञ्चालन हुने गरेको गुनासो आउने गरेको प्रहरीले जनाएको छ । यस्ता गतिविधि नियन्त्रण गर्न रुट परमिटको अनुगमन तथा कार्यान्वयनमा कडाइ गर्न लागिएको हो ।

ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनमा प्रयोगयोग्य अवस्थामा रहेको अग्निनियन्त्रक यन्त्र अनिवार्य रूपमा राख्ने व्यवस्था गर्न लागेको जनाएको छ । विद्युतीय तथा प्राविधिक समस्या, इन्धन चुहावटलगायत कारणले सवारीसाधनमा जुनसुकै बेला आगलागी हुन सक्ने भएकाले प्रारम्भिक अवस्थामै आगो नियन्त्रण गर्न सकिने उपकरण सवारीमै राख्न आवश्यक रहेको प्रहरीको भनाइ छ ।

नयाँ व्यवस्थाअनुसार सार्वजनिक सवारीसाधनको अवस्था, चालकको क्षमता, आवश्यक कागजात, रुट परमिट तथा अग्निनियन्त्रक यन्त्रको उपलब्धता, अवस्था र प्रयोगयोग्यताको नियमित अनुगमन गरिनेछ ।

विशेषगरी चाडपर्वका समयमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्नुका साथै सवारीसाधनको आवागमनसमेत बढ्ने भएकाले दुर्घटना तथा अन्य जोखिम न्यूनीकरणका लागि सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले सार्वजनिक सवारीधनी तथा व्यवसायीलाई प्रचलित कानुन र सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ । साथै, यात्रुको सुरक्षामा प्रत्यक्ष असर पार्ने विषयमा लापरबाही नगर्न तथा सवारीसाधनको नियमित परीक्षण र मर्मतसम्भार गर्नसमेत आग्रह गरेको छ ।

Share News