दुबईबाट तेल अभिवतर्फ उडेको विमान साउदी अरबमा अवतरण

फाइल तस्बिर ।

काठमाडौं । दुबईबाट तेल अभिवतर्फ उडेको फ्लाई दुबईको विमान अचानक साउदी अरबमा अवतरण भएको छ ।

विमानले अपहरणको सूचना दिन प्रयोग हुने कोड प्रसारण गरेपछि इजरायली लडाकु विमानलाई तत्काल उडाइएको थियो ।

तर इजरायली सञ्चारमाध्यमले सुरक्षा अधिकारीलाई उद्धृत गर्दै विमानमा रहेका दुई पाइलटबीच विवाद भएपछि आपतकालीन अवस्था सिर्जना भएको जनाएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार इजरायली प्रधानमन्त्री कार्यालयका प्रवक्ताले फ्लाईदुबईको विमान साउदी अरबतर्फ मोडिएको घटनालाई विमान अपहरणको घटनाका रूपमा नलिइएको बताएका छन् ।

विमानमा करिब १५० जना यात्रु सवार थिए । तीमध्ये अधिकांश इजरायली नागरिक रहेको बताइएको छ ।

अवतरणका क्रममा विमानले केही समय आपतकालीन अवस्थाको संकेत दिएको थियो । त्यसपछि म्यानुअल रूपमा आफ्नो दिशा परिवर्तन गर्दै विमान तल झर्न थालेको थियो ।

त्यसपछि विमानले अपहरण भएको जानकारी दिन प्रयोग गरिने कोड प्रसारण गरेको थियो ।

यस घटनापछि इजरायलका प्रधानमन्त्री र रक्षामन्त्रीले आपतकालीन बैठक गरिरहेका छन् ।

Share News