इरानका तीन कमान्डरको सूचना दिन अमेरिकाले राख्यो डेढ करोड डलर इनाम

काठमाडौं । अमेरिकाले इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) को एयरोस्पेस फोर्सका तीन कमान्डरसँग सम्बन्धित जानकारी दिनेलाई १ करोड ५० लाख अमेरिकी डलरसम्मको पुरस्कार घोषणा गरेको छ ।

बीबीसी फारसीका अनुसार अमेरिकी विदेश मन्त्रालयको ‘रिवाड्र्स फर जस्टिस’ कार्यक्रमअन्तर्गत उक्त पुरस्कार घोषणा गरिएको हो ।

पुरस्कार घोषणा गरिएका तीन कमान्डरमा ब्रिगेडियर जनरल अब्दुल्ला मेहराबी, अहमद जाफराबादी र अली असगर नौरुजी छन् ।

ब्रिगेडियर जनरल अब्दुल्ला मेहराबीलाई आईआरजीसीको एयरोस्पेस फोर्सअन्तर्गतको ‘जिहाद रिसर्च एन्ड सेल्फ–सफिसिएन्स अर्गनाइजेसन’को प्रमुखका रूपमा चिनाइएको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार अहमद जाफराबादी आईआरजीसीको एयरोस्पेस फोर्सका वरिष्ठ कमान्डर हुन् । उनी उक्त फोर्सको सञ्चालनसम्बन्धी व्यवस्थापनका लागि जिम्मेवार रहेको अमेरिकी पक्षको भनाइ छ ।

त्यस्तै, अमेरिकाले अली असगर नौरुजीलाई ‘रिभोल्युसनरी गाड्र्स रेडिनेस एन्ड सपोर्ट’का उपनिर्देशकका रूपमा उल्लेख गरेको छ ।

यसैबीच, अमेरिकाले इरानको रक्षा मन्त्रालयसँग सम्बन्धित १० व्यक्ति तथा संस्थामाथि पनि प्रतिबन्ध लगाएको छ ।

अमेरिकी वित्त मन्त्रालयअन्तर्गतको विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (ओएफएसी) ले प्रतिबन्धको सूची सार्वजनिक गरेको हो । सूचीमा इरानसँगै मेक्सिको, चीन र पाकिस्तानका नागरिकको नाम पनि समावेश छन् ।

Share News