लोडसेडिङ हुन नदिन भारतबाट ११५४ मेगावाट बिजुली आयात गरिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी सुख्खा सिजनमा सम्भावित लोडसेडिङ रोक्न र माग–आपूर्ति बीच सन्तुलन कायम राख्न भारतबाट बिजुली आयात बढाउने तयारी गरेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठका अनुसार यस अवधिमा कुल ११५४ मेगावाट बिजुली भारतबाट आयात गर्ने योजना बनाइएको छ । 

जसअन्तर्गत ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ६०० मेगावाट, टनकपुर-महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुहरूबाट ३५० मेगावाट र आरटिसको 

माध्यमबाट १५० मेगावाट बिजुली आयात गरिनेछ । अघिल्लो वर्षको सुख्खायाममा पनि पिक आवरमा ८०० मेगावाटसम्म बिजुली आयात गरिएको थियो । 

यस वर्षको सुख्खायाममा आन्तरिक उत्पादनबाट करिब १२१८ मेगावाट विद्युत उपलब्ध हुने अनुमान छ। आयातित र आन्तरिक उत्पादन गरी कुल विद्युत उपलब्धता २३७२ मेगावाट पुग्ने प्राधिकरणको प्रक्षेपण छ । 

अघिल्लो वर्षको सुख्खायाममा राष्ट्रिय विद्युतको उच्चतम माग २२९२ मेगावाट रहेको र यस वर्ष पनि माग खासै नबढ्ने अनुमान गरिएको छ । 

हालै असोजमा आएको बाढी-पहिरोले ३१७ मेगावाट र गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले थप ४३० मेगावाट विद्युत प्रणालीबाट बाहिरिएका कारण पनि सुख्खायाममा भारतबाट बिजुली आयात गर्नुपर्ने बाध्यता सिर्जना भएको हो । 

Share News