आज विश्व अल्जाइमर्स दिवस । हरेक वर्ष सेप्टेम्बर २१ तारिखका दिन मनाइने यो दिवसको यसवर्षको नारा ‘जति छिटो थाहा पायो, त्यति नै राम्रो’ भन्ने राखिएको छ । रोगको पहिचान समयमै गर्ने र यो रोग हुन बढावा दिने मुख्य कारक तत्त्वलाई समयमै पहिचान गरेर बिर्सिने रोगबाट बच्न आह्वान गरिएको छ । यो दिवस सन् १९९४ देखि मनाउन थालिएको हो । विश्वको तथ्याङ्कअनुसार ६५ वर्षदेखि ७५ वर्षसम्मका पाँच प्रतिशत जनसङ्ख्या, ७५ वर्षदेखि ८५ वर्षसम्मका १३ प्रतिशत र ८५ वर्ष पार गरेका एक तिहाइ व्यक्तिमा अल्जाइमर्स हुने गरेको छ ।
सामान्य बिर्सने समस्या र अल्जाइमर्सबीचको फरक के हो ? रोग कसरी पहिचान गर्ने र यसको व्यवस्थापन कसरी गर्ने ? नेपालमा यसको अवस्था कस्तो छ ? यिनै विषयमा अन्नपूर्ण न्यूरो अस्पतालमा कार्यरत न्यूरो फिजिसियन डा. प्रतीक पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश :
सामान्य रूपमा हुने बिर्सने समस्या र अल्जाइमर्सबीच कसरी फरक छुट्याउने ?
उमेर बढ्दै जाँदा मानिसले कहिलेकाहीँ नाम, ठाउँ वा कुनै कुरा तत्काल सम्झन नसक्ने हुन सक्छ । केही समयपछि त्यो कुरा सम्झन सकिन्छ भने त्यसलाई सामान्य उमेरसँग सम्बन्धित बिर्साइका रूपमा लिन सकिन्छ । तर अल्जाइमर्समा पहिले राम्रोसँग परिचित रहेका कुरा नै क्रमशः बिर्सिँदै जान्छन् ।
उदाहरणका लागि, परिचित मानिसको नाम बिर्सने, पहिलेदेखि थाहा भएको बाटो बिर्सेर हराउने, लामो समयदेखि गर्दै आएको खाना पकाउने वा अन्य दैनिक काम गर्ने तरिका बिर्सने जस्ता समस्या देखिन सक्छन् ।
त्यससँगै चिडचिडापन, अनावश्यक शंका गर्ने बानी तथा आर्थिक कारोबार वा पैसासम्बन्धी सामान्य काम गर्न कठिनाइ पनि देखिन सक्छ ।
बिर्सने समस्या देखिँदैमा त्यसलाई अल्जाइमर्स मान्नु हुँदैन । बिर्सने समस्या विभिन्न कारणले हुन सक्छ । भास्कुलर डिमेन्सिया, पार्किन्सन्ससँग सम्बन्धित डिमेन्सिया, डिप्रेसन, फ्रन्टोटेम्पोरल डिमेन्सिया, थाइराइडको समस्या वा भिटामिन बी–१२ को कमीले पनि अल्जाइमर्ससँग मिल्दोजुल्दो लक्षण देखाउन सक्छ ।
त्यसैले बिर्सने समस्या देखिएपछि सबैभन्दा महत्त्वपूर्ण कुरा त्यसको कारण पहिचान गर्नु हो । कतिपय कारण उपचार गरेपछि सुधार गर्न सकिने पनि हुन्छन् ।
अल्जाइमर्स हुनुको मुख्य कारण के हो ?
अल्जाइमर्सको शतप्रतिशत कारण अहिलेसम्म निश्चित भइसकेको छैन । वैज्ञानिक अध्ययनहरूले मस्तिष्कमा केही प्रोटिन असामान्य रूपमा जम्मा हुनु र अल्जाइमर्सबीच सम्बन्ध देखाएका छन् ।
परिवारमा अल्जाइमर्सको इतिहास हुनु तथा धूम्रपानजस्ता केही जोखिम कारकसँग पनि यसको सम्बन्ध देखिएको छ । तर एउटै कारणले सबै व्यक्तिमा अल्जाइमर्स हुन्छ भन्ने छैन ।
कुन उमेर समूहमा अल्जाइमर्स बढी देखिन्छ ?
अल्जाइमर्स सामान्यतया उमेर बढ्दै गएपछि बढी देखिन्छ । विशेषगरी ५० वर्षपछि यसको जोखिम बढ्दै जान्छ । युवा उमेरमै सुरु हुने अल्जाइमर्स तुलनात्मक रूपमा दुर्लभ हुन्छ ।
अल्जाइमर्सको निदान कसरी गरिन्छ ?
बिरामीमा देखिएका लक्षण, व्यवहारमा आएको परिवर्तन र दैनिक जीवनमा परेको प्रभावको मूल्यांकन गरिन्छ । परिवारका सदस्यबाट पनि बिरामीको व्यवहार र स्मरणशक्तिमा आएको परिवर्तनबारे जानकारी लिन्छौं ।
आवश्यकताअनुसार एमआरआईलगायतका परीक्षण गरिन्छ । यसले स्ट्रोक, अन्य प्रकारको डिमेन्सिया वा मस्तिष्कसँग सम्बन्धित अन्य समस्या छुट्याउन सहयोग गर्छ ।
अल्जाइमर्ससँग सम्बन्धित केही प्रोटिन तथा आनुवंशिक परीक्षण पनि गर्न सकिन्छ । तर यी परीक्षण महँगा हुन्छन् र सबै बिरामीमा अनिवार्य हुँदैनन् । धेरै अवस्थामा लक्षण, परिवारको जानकारी र चिकित्सकीय मूल्यांकनका आधारमा नै निदान गर्न सकिन्छ ।
अल्जाइमर्सको उपचार सम्भव छ कि छैन ?
अहिले सुरु भइसकेको अल्जाइमर्सलाई पूर्ण रूपमा निको पार्ने वा रोगलाई उल्टाएर पहिलेको अवस्थामा पुर्याउने औषधी उपलब्ध छैन । केही औषधीले रोगको प्रगति केही सुस्त बनाउन र बिरामीको जीवनस्तर कायम राख्न सहयोग गर्न सक्छन् ।
तर अल्जाइमर्सको व्यवस्थापनमा औषधीसँगै निरन्तर हेरचाह अत्यन्त महत्त्वपूर्ण हुन्छ ।
परिवारले अल्जाइमर्स भएका बिरामीको हेरचाह गर्दा के कुरामा ध्यान दिनुपर्छ ?
बिरामीले खाना खान, कपडा लगाउन वा दैनिक काम गर्न बिर्सन सक्छन् । कतिपय अवस्थामा घरबाट बाहिर निस्केर हराउने समस्या पनि हुन सक्छ । त्यसैले सुरक्षित वातावरण बनाउनुपर्छ ।
सम्भव भएसम्म परिचित वातावरण, नियमित दिनचर्या र निरन्तर हेरचाह कायम राख्नु राम्रो हुन्छ । हेरचाह गर्ने व्यक्ति बारम्बार परिवर्तन हुँदा वा वातावरण परिवर्तन हुँदा कतिपय बिरामीमा चिडचिडापन र असहजता बढ्न सक्छ ।
न्यूरोलोजिस्टसँगै आवश्यकताअनुसार मनोचिकित्सक, मनोवैज्ञानिक र फिजियोथेरापिस्टको सहयोग पनि आवश्यक पर्न सक्छ ।
बिरामीको परिवार र हेरचाहकर्ताको मानसिक स्वास्थ्यलाई कत्तिको महत्त्व दिनुपर्छ ?
अल्जाइमर्स भएका व्यक्तिको लामो समयसम्म हेरचाह गर्दा परिवारका सदस्यमा तनाव, थकान र चिन्ता देखिन सक्छ । त्यसैले बिरामीको मात्र होइन, हेरचाहकर्ताको मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ ।
नेपालमा अल्जाइमर्सको अवस्था र चुनौती के हो ?
नेपालमा प्रमुख चुनौतीमध्ये एक समयमै पहिचान नहुनु हो । कतिपय मानिसले बिर्सने समस्यालाई उमेर बढेपछि हुने सामान्य कुरा भनेर बेवास्ता गर्छन् ।
परीक्षण तथा विशेषज्ञ सेवामा पहुँच, आर्थिक अवस्था र जनचेतनाको कमीका कारण पनि कतिपय बिरामी ढिलो मात्र चिकित्सककहाँ पुग्ने गरेका छन् ।
नेपालमा अल्जाइमर्स तथा डिमेन्सियाका बिरामीका लागि समूहगत हेरचाह, काउन्सिलिङ र अन्य सहयोगका पहलहरू विस्तार हुँदै छन् । तर यो क्षेत्र अझै विकासकै चरणमा छ ।
बिर्सने समस्या देखिएपछि कहिले चिकित्सकलाई देखाउनुपर्छ ?
दैनिक जीवनमा असर पार्ने गरी स्मरणशक्तिमा लगातार समस्या देखिन थालेको छ भने चिकित्सकलाई देखाउनुपर्छ ।
विशेषगरी परिचित मानिस, ठाउँ वा काम बिर्सने, बारम्बार एउटै कुरा सोध्ने, आर्थिक कारोबार गर्न कठिन हुने वा घरबाट बाहिर निस्कँदा बाटो बिर्सिने जस्ता समस्या देखिएमा बेवास्ता गर्नु हुँदैन ।
किनभने सबै स्मरणशक्तिको समस्या अल्जाइमर्स हुँदैन । थाइराइडको कमी वा भिटामिन बी–१२ को कमीजस्ता उपचार गर्न सकिने अवस्थाले पनि यस्तो समस्या ल्याउन सक्छन् । त्यसैले पहिले सही निदान आवश्यक छ ।
अल्जाइमरको जोखिम कम गर्न वा मस्तिष्कलाई सक्रिय राख्न के गर्न सकिन्छ ?
नियमित शारीरिक गतिविधि र व्यायाम उपयोगी हुन्छ । मस्तिष्कलाई सक्रिय राख्न पढ्ने, लेख्ने तथा आफूलाई रुचि लाग्ने बौद्धिक र सामाजिक गतिविधिमा संलग्न भइरहन सकिन्छ । समग्र स्वास्थ्यको राम्रो हेरचाह पनि महत्त्वपूर्ण हुन्छ ।
परिवारमा अल्जाइमर्सको बलियो इतिहास भएका व्यक्तिले चिकित्सकसँग सल्लाह गरेर आवश्यक परीक्षण र जोखिम मूल्यांकन गराउन सक्छन् ।
अन्त्यमा, विश्व अल्जाइमर्स दिवसको अवसरमा आम मानिसलाई तपाईं के सन्देश दिन चाहनुहुन्छ ?
अल्जाइमर्सलाई बिर्सने रोग भनेर मात्रै बुझ्नु हुँदैन । स्मरणशक्तिमा आएको परिवर्तनको कारण समयमै पहिचान गर्नु महत्त्वपूर्ण छ । बिर्सने समस्या देखिँदैमा ‘यो त बुढ्यौलीको सामान्य समस्या हो’ भनेर बेवास्ता गर्नु हुँदैन ।
अल्जाइमर्सको व्यवस्थापनमा औषधी मात्र पर्याप्त हुँदैन । बिरामी, परिवार र हेरचाहकर्तालाई समेटेर निरन्तर हेरचाह, सुरक्षित वातावरण र आवश्यकताअनुसार विभिन्न स्वास्थ्यकर्मीको सहयोग आवश्यक हुन्छ । त्यसैले समस्या देखिएपछि जति छिटो पहिचान र मूल्यांकन गर्यो, त्यति नै राम्रो व्यवस्थापन गर्न सकिन्छ ।