काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पक्राउ गर्ने तयारी भइरहेको चर्चासँगै पार्टीभित्र राजनीतिक तरंग उत्पन्न भएको छ । थापामाथि सादा पोशाकका व्यक्तिहरूले निगरानी बढाएको सूचना सार्वजनिक भएपछि कांग्रेस नेताहरूले सरकारलाई चेतावनी दिएका छन् भने पार्टीले औपचारिक विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
कांग्रेस सभापति थापाको सचिवालयले पछिल्ला दुई दिनदेखि अपरिचित व्यक्तिहरूले उनको गतिविधिमाथि निगरानी राखिरहेको जनाएको छ । सचिवालयका एक सदस्यका अनुसार मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरू थापाको पछिपछि लाग्ने गरेका छन् । सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा समेत सादा पोशाकका अपरिचित व्यक्तिहरूको आवतजावत बढेको उनको दाबी छ ।
यो घटनालाई लिएर कांग्रेस नेताहरूले सरकारमाथि राजनीतिक प्रतिशोध साँध्न खोजेको आरोप लगाएका छन् । नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले सभापति थापाविरुद्ध सरकारले गलत कदम चाले कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
सभापतिलाई पक्राउ गर्ने प्रयास भए पार्टीले त्यसको सशक्त प्रतिवाद गर्ने उनको भनाइ छ । बिचौलिया इनम सापकोटाको बयानलाई आधार बनाएर थापालाई पक्राउ गर्ने प्रयास भइरहेको उनको दाबी छ । उनले सरकारको कदमको प्रतिरोध गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।
कांग्रेस उपसभापति चन्द्र भण्डारीले घटनालाई प्रतिशोध वा पूर्वाग्रहको विषय नबनाई सत्यतथ्य छानबिन गर्नुपर्ने धारणा राखेका छन् । न्याय, सत्य र जवाफदेहिताका लागि अनुसन्धान आवश्यक रहेको भन्दै उनले बिचौलियालाई पनि राज्यको नियमन र नियन्त्रणभित्र राखेर जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन् ।
कांग्रेस नेतृ एवं महामन्त्री डा. डिला संग्रौलाले इनम सापकोटा प्रकरणले राज्यसत्ताको दुरुपयोग भइरहेको देखाएको आरोप लगाएकी छन् । उनले प्रहरी हिरासतमा रहेका अभियुक्तको मोबाइल फरेन्सिक परीक्षण हुनुअघि नै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा राखेको भन्ने विषय सार्वजनिक भएको उल्लेख गर्दै सरकारसँग जवाफ पनि मागेकी छन् ।
संग्रौलाले प्रहरी संगठनमा हस्तक्षेप गरी चेन अफ कमान्ड भत्काइएको आरोप पनि लगाएकी छन् । राज्यका निकायमा स्वेच्छाचारिता र अपारदर्शी निर्णय गर्ने प्रवृत्तिले सरकारप्रतिको विश्वास कमजोर बनाएको उनको टिप्पणी छ ।
कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले पनि इनम सापकोटाको नाममा सार्वजनिक भएको अडियोलाई सरकारको नियोजित प्रचारबाजीको संज्ञा दिएका छन् । उनका अनुसार उक्त अडियो विभिन्न टुक्रा जोडेर तयार पारिएको छ र त्यसमा सभापति थापालाई जोड्ने गरी छेडछाड गरिएको छ ।
शिवाकोटीले सामाजिक सञ्जालमार्फत प्रहरी हिरासतमा रहेका व्यक्तिको बयानलाई छनोटपूर्ण रूपमा सार्वजनिक गरेर विपक्षी आवाज दबाउने प्रयास भएको आरोप लगाएका छन् । उनले यस्तो बयानलाई अदालतले प्रमाणका रूपमा स्वीकार नगर्ने दाबीसमेत गरेका छन् ।
यसैबीच, कांग्रेस नेता देवराज चालिसेले पार्टीको वैधानिकता र आन्तरिक निर्णय प्रक्रियामाथि सत्तापक्षबाट प्रश्न उठाउने प्रयासको आलोचना गरेका छन् । पार्टीभित्रका असहमति आन्तरिक लोकतान्त्रिक प्रक्रियाबाट समाधान हुने विषय भएको भन्दै उनले कांग्रेसको संगठन सञ्चालनमा बाह्य हस्तक्षेप आवश्यक नरहेको बताएका छन् ।

कांग्रेसको औपचारिक प्रतिवाद
विकसित घटनाक्रमपछि नेपाली कांग्रेसले ‘भय र भ्रमको शासन बन्द गर’ भन्दै औपचारिक विज्ञप्ति जारी गरेको छ । महामन्त्री प्रदीप पौडेलले जारी गरेको विज्ञप्तिमा पार्टी र नेतृत्वविरुद्ध लगाइएका आरोप, सार्वजनिक अडियो तथा प्रचारलाई निराधार, कपोलकल्पित र नियोजित भनिएको छ ।
कांग्रेसले इनम सापकोटा प्रकरणसहित यससँग सम्बन्धित सबै घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय अनुसन्धान गर्न माग गरेको छ । आफूहरूमाथि उठेका प्रश्न र आरोपको सामना गर्न तथा आवश्यक छानबिनका लागि तयार रहेको पनि पार्टीले स्पष्ट पारेको छ ।
विज्ञप्तिमा प्रधानमन्त्री र उच्चपदस्थ अधिकारीको नाम जोडेर राज्यका निकाय दुरुपयोग भइरहेको विषय सार्वजनिक भएको उल्लेख छ । प्रधानमन्त्री कार्यालयसँग सम्बन्धित व्यक्तिहरूले अनुसन्धानमा रहेका व्यक्तिको मोबाइल र प्रमाणमाथि अनधिकृत नियन्त्रण तथा हस्तक्षेप गरेको आरोप लगाउँदै कांग्रेसले प्रहरी महानिरीक्षक हटाउने घटनालाई पनि त्यसैको अर्को कडीका रूपमा व्याख्या गरेको छ ।
पार्टीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, न्यायपालिकाको स्वतन्त्रता र शक्ति पृथकीकरणमाथि सरकारबाट चुनौती सिर्जना भइरहेको आरोप लगाएको छ । कांग्रेसले पार्टीलाई बदनाम गर्ने प्रयासविरुद्ध राजनीतिक र कानुनी दुवै बाटोबाट अघि बढ्ने चेतावनी विज्ञप्तिमार्फत दिएको छ ।
उपसभापति पुष्पा भुसालको नेतृत्वमा कानुनी परामर्श प्रक्रिया अघि बढाउने र संसदीय दलका तर्फबाट नेता भीष्मराज आङ्गम्वेको नेतृत्वमा संसद्मा आवश्यक पहल गर्ने विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे थप धारणा तय गर्न कांग्रेसका केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठकसमेत बोलाइएको छ । आज साँझ ५ बजे पार्टीको पदाधिकारी बैठक बोलाइएको छ ।
इनम सापकोटाको बयानका रूपमा गगन थापा पक्राउ हुन सक्ने चर्चा सामाजिक सञ्जालमा छ ।

प्रहरी संगठन भन्छन् : निर्देशन र जानकारी छैन
सभापति थापा पक्राउ हुन सक्ने भय पार्टीभित्र रहेको बेला प्रहरी संगठनहरुले भने यस विषयमा कुनै जानकारी तथा निर्देशन पनि नभएको बताएका छन् ।
नेपाल प्रहरीका प्रवक्ता अबि नारायण काफ्लेले गगन थापालाई कुनै निगरानी नराखेको र उनलाई पक्राउबारे निर्देशन पनि नआएको जानकारी दिए ।
यस्तै, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता अनुपम शमशेर जबराले पनि सीआईबीलाई यस विषयमा कुनै जानकारी नभएको धारणा राखे ।
‘सीआईबीलाई यस विषयमा कुनै जानकारी छैन, हामी निगरानी पनि राखेका छैनौं,’ उनले भने ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले पनि कार्यालया उनलाई पक्राउ गर्न भनेर कुनै पनि निर्देशन नआएको जानकारी दिए । आफूलाई यो विषयमा जानकारी समेत नभएको उनको भनाइ छ ।
यस्तै, साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले पनि नेपाली कांग्रेसका एक नेताको विषयमा उजुरी परेर कार्यालयमा बोलाइएको भए पनि गगन थापाको विषयमा भने कुनै जानकारी नभएको बताए ।