काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले जेन–जी उमेर समूहका सांसदहरूलाई आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार जेनजी उमेर समूहका सांसदहरूसँग भएको अन्तरक्रियामा प्रधानमन्त्री साहले युवापुस्ताका मुद्दालाई संसदमा प्राथमिकताका साथ उठाउन आग्रह गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालकाअनुसार प्रधानमन्त्रीले जेन–जी सांसदहरूले डिजिटलाइजेसन, ई–गभर्नेन्स, आर्टिफिसियल इन्टेलिजेन्स, खेलकुद, कला तथा विदेशमा रहेका युवाका विषयलाई समेत संसदको एजेण्डा बनाउनुपर्ने धारणा राखेका थिए ।
प्रधानमन्त्रीले संसदका गतिविधि आफूले नियमित रूपमा नियालिरहेको र जेन–जी सांसदहरूबाट नयाँ सोच र फरक एजेण्डाको अपेक्षा रहेको बताएका थिए ।
अन्तरक्रियामा प्रधानमन्त्रीले राजनीतिलाई मात्र पेशा नबनाई सांसदहरूले आफ्नो छुट्टै व्यवसाय वा पेशागत आधारसमेत निर्माण गर्नुपर्ने धारणा राखेको रास्वपाका सांसद केपी खनालले बताए ।
उनका अनुसार प्रधानमन्त्रीले जेनजी पुस्ताका सांसदसहित युवाहरूलाई उद्यमशीलतामा जोडिन र ‘साइड बिजनेस’ मार्फत आत्मनिर्भर बन्न प्रोत्साहित गरेका थिए ।
स्टार्टअप तथा सूचना प्रविधि क्षेत्रबारे पनि छलफल भएको थियो । नेपालमा आईटी व्यवसाय दर्ता र सञ्चालनका लागि सहज वातावरण निर्माण गर्नुपर्ने विषय सांसदहरूले उठाएका थिए ।
प्रधानमन्त्रीले नेपालमै व्यवसाय दर्ता गर्ने वातावरण बनाउन सरकार तयार रहेको र समस्या आए सरकारसँग सुझाव तथा समन्वय गर्न आग्रह गरेको सांसद खनालले बताए ।
प्रधानमन्त्रीले जेन–जी पुस्ताका युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका थिए । त्यसका लागि बैंकिङ कर्जा प्रक्रियालाई सहज बनाउने तथा नयाँ व्यवसायलाई प्रोत्साहन गर्ने विषयमा समेत छलफल भएको थियो ।
छलफलमा जेनजी आन्दोलनका क्रममा पक्राउ परेका, घाइते तथा मृत्यु भएका व्यक्तिका विषय पनि उठाइएको सांसदहरूले बताएका छन् ।
सांसद खनालका अनुसार आन्दोलनका क्रममा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूको मुद्दाबारे गृह मन्त्रालयअन्तर्गत अध्ययन समिति गठन भएको छ ।
समितिले मुद्दाहरूको वर्गीकरण गरी विद्यमान कानूनअनुसार फिर्ता लिन सकिने मुद्दाको प्रक्रिया अघि बढाउने विषयमा काम गरिरहेको उनले बताए । तर गम्भीर प्रकृतिका अपराध, हातहतियार, ज्यानसम्बन्धी कसुर तथा लुटपाटलगायतका घटनामा संलग्न देखिएकाहरूको हकमा कानूनी प्रक्रिया कायम रहने सांसद खनालको भनाइ छ ।
उनका अनुसार समितिले छिट्टै प्रतिवेदन बुझाउने र त्यसका आधारमा सरकारले प्रक्रिया अघि बढाउने बताइएको छ ।
सांसद खनालले प्रधानमन्त्रीले जेनजी उमेर समूहका सांसदहरूबाट आफ्नै पुस्ताका मुद्दालाई फरक ढंगले संसदमा प्रस्तुत गर्ने अपेक्षा राखेको बताए ।
उनका अनुसार अहिले विद्यालय तथा कक्षा १२ मा अध्ययनरत विद्यार्थी, विदेशमा रहेका युवा, खेलकुद र कला क्षेत्रमा रहेका युवालगायतका समूहका समस्या र अपेक्षालाई संसदको मूल एजेण्डा बनाउनुपर्ने प्रधानमन्त्री साहको भनाइ छ ।
अन्तरक्रियामा सहभागी सांसदहरूलाई प्रधानमन्त्रीले स्थलगत अध्ययन तथा अनुसन्धान गर्न, सूचना–प्रविधिको उच्चतम प्रयोग गर्न, समस्या समाधानमुखी दृष्टिकोण अपनाउन र पुराना तथा अव्यावहारिक सोच त्याग्न सुझाव दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सांसदहरूलाई रचनात्मक आलोचना गर्न आग्रह
प्रधानमन्त्रीले सरकारका कामकारबाहीबारे सांसदहरूले रचनात्मक आलोचना तथा सुझाव दिनुपर्ने बताएको सांसदहरूले जानकारी दिएका छन् । समस्या देखिए त्यसको समाधानका लागि सरकारसँग समन्वय गर्न पनि प्रधानमन्त्रीले आग्रह गरेका थिए ।
रास्वपाका सांसद बब्लु गुप्ताका अनुसार प्रधानमन्त्रीले संसदमा जेन–जी सांसदहरूको गतिविधि र नयाँ विचारमा आफूले चासो राख्ने गरेको बताएका थिए ।
गुप्ताले सरकार सञ्चालनका क्रममा कमजोरी भए सच्याउँदै अघि बढ्ने प्रतिवद्धता आफूहरूले पनि व्यक्त गरेको बताए ।
अन्तरक्रियामा प्रधानमन्त्रीले जेन–जी पुस्ताका सांसदहरूलाई अभिभावकीय मार्गदर्शनका रूपमा आफ्नै पुस्ताका लागि स्वदेशमै अवसर सिर्जना गर्ने र आत्मनिर्भर बन्ने अभियानमा लाग्न आग्रह गरेका थिए ।
सहभागी सांसदहरूले पनि त्यसलाई सकारात्मक रूपमा लिँदै युवा पुस्ताका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।