काठमाडौं । स्वतन्त्र लगानीकर्ता अजय श्रेष्ठले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को स्वामित्वमा रहेको नेपाल अनलाइन ट्रेडिङ सिस्टममा निजी कम्पनीको नियन्त्रण रहेको बताएका छन् ।
बुधबारको अर्थसमिति बैठकमा ट्रेडिङ सिस्टम निजी कम्पनीको नियन्त्रणमा रहेकोप्रति प्रश्न उठाउँदै उनले पुँजी बजारको प्रविधि विकासका लागि खुला प्रतिस्पर्धा र ‘फ्री एपीआई एक्सेस’ को व्यवस्था गर्न माग गरे ।
श्रेष्ठले नेप्सेको स्वामित्वमा रहेको प्रविधि प्रणालीमा निजी कम्पनीको नियन्त्रण हुनु उपयुक्त नभएको बताउँदै नेपालमा प्रविधि कम्पनी, डेभलपर र दक्ष जनशक्ति पर्याप्त रहेकाले उनीहरूलाई पुँजी बजारको प्रविधि विकासमा सहभागी हुने अवसर दिनुपर्नेमा जोड दिए ।
श्रेष्ठका अनुसार डाटामा पहुँच र एपीआई एक्सेसलाई सीमित गर्दा प्रविधिको विकासमा अवरोध पुग्छ । पुँजी बजारको डाटामा एकाधिकार कायम रहन नहुने भन्दै उनले नेपाल धितोपत्र बोर्ड (सेबोन) ले यस विषयमा अध्ययन गर्नुपर्ने बताए । उनका अनुसार एपीआईमा सहज पहुँच उपलब्ध गराएर धेरै प्रविधि कम्पनीलाई प्रतिस्पर्धा गर्न दिने हो भने नेपाली पुँजी बजारको प्रविधि पूर्वाधार थप विकसित हुन सक्छ ।
श्रेष्ठले ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सञ्चालन गर्ने कम्पनीहरूको स्वामित्व संरचनामाथि समेत प्रश्न उठाएका छन् । टीएमएस सञ्चालन गर्ने कम्पनीका सेयरधनी नै स्टक ब्रोकरसँग सम्बद्ध रहेको अवस्थामा स्वार्थको द्वन्द्व उत्पन्न हुन सक्ने भन्दै उनले त्यसको नियमन तथा स्वामित्व परीक्षण गर्नुपर्ने बताए ।
उनका अनुसार आफैँ सेयरधनी र आफैँ उपभोक्ता हुँदा प्रविधिको विकास हुन सक्दैन । टीएमएसमा खुला प्रतिस्पर्धाको वातावरण आवश्यक रहेको उनको भनाइ छ । टीएमएस कम्पनीको स्वामित्व संरचना जाँच गरी सम्भावित स्वार्थको द्वन्द्व व्यवस्थापन गर्न उनले सेबोनलाई आग्रह गरे । साथै, नेप्सेले आफ्नै सहायक कम्पनीमार्फत प्रविधि विकास गर्न सक्ने विकल्पसमेत उनले अघि सारे ।
श्रेष्ठले भने, 'नेपाल अनलाइन ट्रेडिङ सिस्टम (एनओटीएस) नेप्सेको स्वामित्वमा छ । एनओटीएसको स्वामित्व नेप्सेको हो भने निजी कम्पनीले किन त्यसलाई नियन्त्रण गर्छ ? अहिले नेपालमा प्रविधिका धेरै कम्पनी छन्, युवा जनशक्ति छन्, धेरै डेभलपर छन्, जसले स्टक मार्केटको सिस्टम बनाउन चाहन्छन् । त्यसैले एपीआईको पहुँच किन प्रतिबन्धित छ ? डाटामा किन एकाधिकार छ ? डाटामा एकाधिकार कायम गरेर स्टक मार्केटको पूर्वाधार तथा प्रविधिको विकास कसरी हुन्छ ? यस विषयमा सेबोनले ध्यान दिनुपर्छ ।'
उद्यमीको मेहनत र व्यवसाय निर्माणमा योगदानको मूल्यलाई ‘स्वेट इक्विटी भ्यालु’ का रूपमा समेत हेर्नुपर्ने उनको भनाइ छ । उद्यमशीलताको विकासबिना उद्योग तथा रोजगारी सिर्जना गर्न कठिन हुने भन्दै श्रेष्ठले पुँजी बजारमार्फत पुँजी सङ्कलन गरी मुलुकको पुँजी निर्माणमा योगदान पुर्याउने वातावरण बनाउनुपर्नेमा जोड दिए ।