क्रिष्टल कञ्चनजंघा सेक्युरिटिजले सुरु गर्‍यो मार्जिन कारोबार सुविधा

काठमाडौं । धितोपत्र दलाल व्यवसायी कम्पनी क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज प्रालि (ब्रोकर नं. ५०) ले मार्जिन कारोबार सुविधा औपचारिक रूपमा सुरु गरेको छ । कम्पनीले सोमबारदेखि नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को विद्यमान नियामकीय व्यवस्थाअनुसार मार्जिन कारोबार सेवा सञ्चालनमा ल्याएको जनाएको हो ।

क्रिष्टल कञ्चनजंघाले सार्वजनिक गरेको योजनाअनुसार लगानीकर्ताले कुल कारोबार रकमको ३० प्रतिशत प्रारम्भिक मार्जिन जम्मा गर्नुपर्नेछ भने बाँकी ७० प्रतिशतसम्म रकम ऋणका रूपमा प्राप्त गर्न सक्नेछन् । यो सुविधा लिन इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित काठमाडौंको न्युप्लाजास्थित कम्पनीको कार्यालयमा उपस्थित भई आवेदन दिनुका साथै सम्झौता गर्नुपर्नेछ ।

कम्पनीले विभिन्न तहका लगानीकर्तालाई लक्षित गरी १० लाख रुपैयाँदेखि अधिकतम २ करोड रुपैयाँसम्मको ऋण सीमा निर्धारण गरेको छ । मार्जिन ऋणको अवधि न्यूनतम ३० दिनदेखि अधिकतम १८० दिनसम्म रहनेछ ।

कम्पनीका अनुसार १० लाख रुपैयाँ ऋण सीमाका लागि ३० दिनमा ५ हजार ६ सय रुपैयाँ शुल्क लाग्नेछ भने १८० दिनका लागि ३१ हजार ९२० रुपैयाँ शुल्क तोकिएको छ । त्यसैगरी, २० लाख रुपैयाँ ऋण सीमाका लागि ३० दिनमा ११ हजार २ सय रुपैयाँ र १८० दिनका लागि ६३ हजार ८४० रुपैयाँ शुल्क लाग्नेछ ।

३० लाख रुपैयाँ ऋण सीमाका लागि ३० दिनमा १६ हजार ८ सय रुपैयाँ र १८० दिनका लागि ९५ हजार ७६० रुपैयाँ शुल्क तोकिएको छ । ४० लाख रुपैयाँ ऋण सीमामा ३० दिनको २२ हजार ४ सय रुपैयाँ र १८० दिनको १ लाख २७ हजार ६८० रुपैयाँ शुल्क लाग्नेछ ।

त्यस्तै, ५० लाख रुपैयाँ ऋण सीमाका लागि ३० दिनको शुल्क २८ हजार रुपैयाँ र १८० दिनको १ लाख ५९ हजार ६ सय रुपैयाँ तोकिएको छ । १ करोड रुपैयाँ ऋण सीमाका लागि ३० दिनको शुल्क ५६ हजार रुपैयाँ र १८० दिनको ३ लाख १९ हजार २ सय रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।

अधिकतम २ करोड रुपैयाँ ऋण सीमाका लागि ३० दिनमा १ लाख १२ हजार रुपैयाँ र १८० दिनसम्मका लागि ६ लाख ३८ हजार ४ सय रुपैयाँ शुल्क लाग्नेछ ।

कम्पनीले मार्जिन कारोबार सुविधा लिने लगानीकर्ताका लागि थप छुटको व्यवस्था पनि गरेको छ । पहिलो ३० दिनपछि प्रत्येक थप ३० दिनका लागि १ प्रतिशत थप छुट दिइने कम्पनीले जनाएको छ ।

null 

 

Share News