अर्थमन्त्री डा. वाग्लेको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

काठमाडौं । विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा दुई दिने भ्रमणका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा एक उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल आज अमेरिकाको वासिङ्टन डी.सी. प्रस्थान गरेको छ ।

अर्थ मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार आगामी असोज १९ र २० गतेसम्म हुने उक्त भ्रमणका क्रममा द्विपक्षीय सहयोग अभिवृद्धि, पुनर्निर्माणको ’ग्रे लिस्ट’बाट बाहिरिने प्रक्रिया लगायतका बृहत् आर्थिक सुधारका विषयमा गहन छलफल हुनेछ । 

भ्रमणका क्रममा अर्थमन्त्री डा. वाग्लेले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय र इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसनका उच्चपदस्थ अधिकारीहरूका साथै निजी क्षेत्रका अग्रणी लगानीकर्ताहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । 

सो अवसरमा हालै भोटेकोशीमा आएको बाढीका कारण क्षति पुगेका भौतिक एवं आर्थिक पूर्वाधारको पुनरुत्थान, पुनर्निर्माण तथा उत्थानशील विकासका लागि थप सहायता परिचालनबारे विश्व बैंक र अमेरिकी सरकारका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

 साथै, नेपालमा सडक र विद्युत प्रसारण लाइनजस्ता महत्त्वपूर्ण पूर्वाधारमार्फत रोजगारी तथा आर्थिक अवसरको सिर्जना गर्न विकास साझेदार र निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि पहल गर्ने योजना पनि रहेको मन्त्रालयले जनाएको छ ।

Share News