बंकुलबाट १ करोड ५ लाखभन्दा बढी मूल्यको अवैध स्टिकर बरामद

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सरमजुवा रौतहटको टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको १ करोड ५ लाखभन्दा बढी मूल्यको १ लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद गरेको छ ।

शुक्रबार दिउँसो अन्दाजी १५ः४५ बजे रौतहट जिल्लाको बौधिमाई नगरपालिका–७ स्थित बंकुल भन्सार पछाडिको धानबारीबाट सशस्त्र प्रहरी निरीक्षक अच्युत सुवेदीको कमाण्डमा खटिएको टोलीले उक्त अवैध स्टिकर बरामद गरेको हो ।

भारतबाट अवैध रुपले कार्टुनमा राखी नेपालतर्फ ल्याउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्नासाथ सामान छाडेर फरार भएका थिए ।

उक्त कार्टुन जाँच गर्दा नेपाल सरकार आन्तरिक राजस्व विभागबाट जारी हुने किसिमको ५० यूपी १८० एमएल साइजको मदिराको बोतलमा टास्ने स्टिकर फेला पारेको हो ।

बरामद स्टिकर आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ ।

Share News